मकवानपुरका जनप्रतिनिधिको भेला गर्दै कांग्रेस

साझाकुरा
२०८१ भाद्र २७, बिहीबार ११:४०

हेटौंडा-नेपाली कांग्रेसको स्थानीय तह समन्वय केन्द्रीय विभागले पार्टीबाट निर्वाचित जनप्रतिनिधिको भेला गर्ने भएको छ । विभागले स्थानीय तहका जनप्रतिनिधि र उम्मेदवारसँग अन्तरसंवाद गर्ने कार्यक्रम मकवानपुरबाट सुरु गर्ने भएको हो ।विभागको आयोजनामा मकवानपुरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भेला आगामी भदौ ३० गतेलाई तय गरिएको जिल्ला पार्टीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख उपस्थितिमा हुने भेलामा स्थानीय तहमा निर्वाचित भएको साढे २ वर्षमा गरेका कामहरु, चुनौती, घोषणापत्रको कार्यान्वयनको अवस्थाको बारेमा जनप्रतिनिधिबीच अन्तरक्रिया गरिने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए ।

भेलामा स्थानीय तहका जनप्रतिनिधि र प्रदेश र केन्द्रसँगको समन्वय, जनप्रतिनिधि र पार्टीबीचको समन्वयको विषयमा पनि बहस हुने लामाले बताए । जनप्रतिनिधिबीच हुने गरेको बेमेलको विषयमा पनि भेलामा छलफल गरी आगामी योजना बनाइने बताइएको छ । संविधान संशोधनमा उल्लेख गर्नुपर्ने विषयको बारेमा पनि विभागले स्थानीय तहका जनप्रतिनिधिबाट सुझाव लिने कांग्रेसले जनाएको छ । मकवानपुरबाट सुरु हुने भेला देशभर हुने जनाइएको छ ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुरमा ५ वटा स्थानीय तहमा प्रमुख, ४ वटामा उपप्रमुख र ४४ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै १ सय ४७ जना सदस्य छन् भने जिल्ला समन्वय समितिमा ५ जना र गाउँ÷नगर कार्यपालिकामा २० जनाले प्रतिनिधित्व गरिरहेका छन् । निर्वाचित जनप्रतिनिधिका साथै भेलामा निर्वाचनमा भाग लिएका उम्मेदवारसमेत सहभागी हुने पार्टी सभापति लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*