बालअधिकार कानूनको पूर्णकार्यान्वयनमा प्रदेशप्रमुखको आग्रह

साझाकुरा
२०८१ भाद्र ३०, आईतवार १०:४६

हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले २९ भदौ शनिबार मनाइदै गरिएको राष्ट्रिय बालदिवस २०८१ का अवसरमा शुभकामना दिँदै बालअधिकारका कानूनको पूर्णकार्यान्वयनमा जोड दिन आग्रह गरेका छन् ।प्रमुख देकोटाले शुभकामना सन्देश जारी गर्दै नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरी आवश्यक नीति, कानून र संस्थागत संरचना निर्माण गरेको भएपनि अझै पनि बालबालिकाको सवालमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् । उनले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालयलगायत अन्य सरोकारवाला निकायको एकीकृत र समन्वयात्मक भूमिका अपरिहार्य रहेको सन्देश मार्फत बताएका छन् ।

राज्यबाट संवैधानिक, नीतिगत, कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिका अझै पनि बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित रहेको उनको शुभकामना सन्देशमा उल्लेख छ । ‘बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन सबैको दायित्व हो’ देवकोटाले सन्देशमा भनेका छन् ।‘बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न म सम्बद्ध पक्षलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।

प्रदेशप्रमुख देवकोटाले बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज, निजीक्षेत्रले निर्वाह गर्दै आएको भूमिकाप्रति पनि हार्दिक धन्यवाद दिए । बालबालिका आजका साझेदार र भविष्यका कर्णधार भएको उल्लेख गर्दै उनीहरुको उचित पालनपोषण, शिक्षा, समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न उनले सबैलाई राष्ट्रिय बालदिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्नेमा विश्वास व्यक्त गरेका छन् ।

प्रमुख देकोटाले शुभकामना सन्देश जारी गर्दै नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण रबालसहभागिता लगायत विषयमा अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउँदै आइरहेको उल्लेख गरेका छन् ।संयुक्त राष्ट्रसंघीय बाअधिकारसम्बन्धी महासन्धि १९८९ लाई नेपालले अनुमोदन गरेको दिन (१४ सेप्टेम्बर १९९०) को स्मरण गर्दै बालअधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइँदै आइएको छ । यसवर्ष पनि ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ ६० औं राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*