राष्ट्रिय भेट्रान्स फुटबलको आज उपाधि भिडन्त

साझाकुरा
२०८१ आश्विन १, मंगलवार ११:२२

हेटौंडा- हेटौंडामा जारी तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको आज मंगलबार फाइनल खेल हुँदैछ । पूर्वेली भेट्रान्स क्लब झापा र फ्रिडम फाइटर भेट्रान्स काठमाडौ उपाधिका लागि भिड्नेछन् ।रोटरी क्लब मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको सोमबारको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको हरिवन भेट्रान्सलाई १०–० गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटरले फाइनलमा पूर्वेली भेट्रान्ससँगको भेट पक्का गरेको हो । यसैगरी आइतबारको पहिलो सेमिफाइन खेलमा नवजनजागृति भेट्रान्स सिमरालाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली भेट्रान्स फाइनल प्रवेश गरेको थियो ।प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएको थियो ।

जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगको लागि आयोजना गरिएको प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ ।प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएको थियो । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएको ८ ए साईड भेट्रान्स प्रतियोगिताको पहिलो र दोस्रो संस्करण चितवन भेट्रान्स क्लबले हात पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*