हेटौंडामा जारी जिल्ला लिग फुटबल : गोर्खा ब्वाइज शीर्ष स्थानमा

साझाकुरा
२०८१ आश्विन ४, शुक्रबार ११:०९

हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज क्लव १६ अंकसहित समू्ह बी को शीर्षस्थानमा रहेको छ ।जारी लिगमा सवैभन्दा खर्चिलो क्लब बनेको गोर्खा ब्वाइजले प्रतियोगितामा सहभागी २८ वटा क्लवमध्ये सबैभन्दा बढी अंक जोडेको छ । लिग चरणको ६ मध्ये ५ जित र एक बराबरी खेल्दै गोर्खाले १६ अंक बटुलेको हो । लिग चरणको अन्तिम खेलमा गोर्खा ब्वाइजले महाबीर क्लवलाई बिहीबार ११–० ले हरायो । गोर्खा ब्वाइजको लागि मनोज घलानले ८, सुरज लामा २ र प्रताप थोकरले एक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका मनोज घलान घोषित भए ।

यो समूहमा दोस्रो स्थानमा रहेको साविक विजेता न्यू डाँफे क्लवको १४ अंक रहेको छ । बिहीबारै भएको अर्को खेलमा हटिया स्पोर्टस् एकेडेमी र ७ नम्बर फुटबल टिमले एक÷एक गोलको बराबरी खेलेको छ । हटियाबाट विवेक माझी र ७ नम्बरको तर्फबाट सुरेश राईले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच ७ नम्बर फुटबल टिमका कुशल अधिकारी घोषित भए । योसँगै साविक उपविजेता हटियाले ५ र ७ नम्बर फुटबल टिमले २ अंकसहित लिगको अन्त्य गरेको छ ।

बिहीबारको अर्को खेलमा एफसी नामटार र सानोपोखरा क्लवले २÷२ को बराबरी खेलेको छ । नामटारबाट साजन जिम्बा र सुदिप तामाङले गोल गर्दा सानोपोखराका सुमन राई र कमल मोक्तानले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच सानोपोखराका कमल मोक्तान घोषित भए । नामटारको ९ अंक र सानोपोखराको २ अंक भएको छ । यही समूह अन्तर्गत भएको अर्को खेलमा पदमपोखरी क्लवले न्यू कम्बाइन क्लवलाई १–० ले हरायो । पदमपोखरीका लागि दिवश गोलेले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच पदमपोखरीका गोलरक्षक रोजक थिङ घोषित भए ।

यो जितसँगै पदमपोखरीको ११ अंक भएको छ । १३ अंकसहित कम्बाइन क्लव समूह सी को शीर्षस्थानमा रहँदा एफसी मल्टिभिजनको १२ अंकसहित दोस्रो स्थान रहेको छ । जारी प्रतियोगितामा शुक्रबार पनि ४ खेल रहेको छ । प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*