बागमतीमा लगानी गर्न पर्साका उद्यमीलाई मन्त्री काफ्लेको आग्रह

साझाकुरा
२०८१ आश्विन ५, शनिबार १४:३७

हेटौंडा- बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले पर्साका उद्योगी व्यवसायीलाई बागमती प्रदेशमा उद्योग तथा कारखाना विस्तार गर्न आग्रह गरेका छन् । प्रदेशको राजधानी हेटौंडा र आसपासका क्षेत्रमा औद्योगिक प्रतिष्ठान स्थापना गर्दा धेरै कुराले सहज हुने बताएका छन् ।वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित भेटघाट तथा छलफलमा मन्त्री काफ्लेले बागमती प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । मुलुककै सबैभन्दा ठूलो हेटौंडा औद्योगिक क्षेत्र र प्रस्ताबित मयुरधाप औद्योगिक क्षेत्रमा लगानी गर्न मन्त्री काफ्लेको आब्हानलाई संघका पदाधिकारीले सकारात्मक रुपमा लिएका छन् ।

‘बागमती प्रदेशमा लगानी गर्न के कस्ता पूर्वाधार आवश्यक पर्छन् । त्यसका लागि गर्नुपर्ने सबैखालको सहजीकरण गर्न प्रदेश सरकार तयार छ’, उनले भने, ‘बागमती प्रदेश सरकार उद्योग र कलकारखाना स्थापनाका लागि कानुनी र अन्य प्राविधिकरुपमा पनि सहजीकरण गरेर औद्योगिक लगानीको वातावरण बनाउन कटिबद्ध छ ।’काठमाडौंको बालाजु, पाटन औद्योगिक क्षेत्रमा भन्दा हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्रमा औद्योगिक प्रतिष्ठान स्थापना गर्न उपयुक्त हुने मन्त्री काफ्लेले बताएका छन् । मन्त्री काफ्लेले बागमती प्रदेश लगानीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले पनि सबै खालका सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । ‘पर्साका उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र जटिलता चिर्न बागमती प्रदेश सरकार तयार छ’, उनले भने, ‘मधेश प्रदेशको अर्थ नीतिमा बागमती प्रदेशको तर्फबाट गर्न सक्ने सहजीकरण र समन्वय गर्न पनि तयार छौँ ।’

खहरे उकासको करिब २ सय बिघा जमिनमा स्थापना हुन लागेको मयुरधाप औद्योगिक क्षेत्रमा ६५ वटा उद्योग स्थापना गर्ने सरकारको तयारी छ । पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा हेटौंडा–१६ र दक्षिणमा उत्तरपानी पर्ने चारकिल्लाभित्र रहेको चुरेक्षेत्रको उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्कै निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रको नाममा नामसारीगरिएको थियो । औद्योगिक क्षेत्र तयार गर्नका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

चारदेखि १४ रोपनीसम्मका गरी ६३ वटा प्लटमा विभाजित गरिएको छ ।मन्त्री काफ्लेले अहिले मुलुकमा देखिएको आर्थिक समस्यालाई सबैले एकजुट भएर समाधानको बाटोतर्फ अघि बढ्नुपर्ने बताए । ‘वीरगञ्ज भन्सार कार्यालयमा कम राजस्व संकलन हुँदा त्यसको असर बागमती प्रदेशमा पनि पर्छ’, उनले भने, ‘वीरगञ्ज आसपासको औद्योगिक क्षेत्रमा परेको समस्या समाधान गर्न आफ्नो ठाउँबाट पहलकदमी गर्छौँ ।’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्न सरकार र निजीक्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका थिए ।

‘अहिले मुलुकमा देखिएको आर्थिक मन्दीको कारणले जताततै निराशा छाइरहेको छ’, उनले भने, ‘सरकार र निजीक्षेत्र हातेमालो गरेर अघि बढेको खण्डमा मात्रै अहिलेको समस्या अन्त्य गर्न सकिन्छ ।’वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले राजस्वको दर मात्रै नभएर दायरा बढाउनेतर्फ अग्रसर हुनुपर्ने बताए । ‘सरकारले राजस्वको दर मात्रै उठाएर राजस्व बढ्दैन’, उनले भने, ‘राजस्वको दर घटाएर दायरा बढाउनेतर्फ अग्रसर हुन जरुरी छ ।’ संघका उपाध्यक्ष मनोज दासले बागमती प्रदेश सरकारले हटौंडा हुँदै काठमाडौं जाने छोटा रुटका तीनवटै सडकलाई कालोपत्रे गरेर व्यवस्थित गर्न जरुरी भएको बताए । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कृष्ण मैनालीले निजी क्षेत्रले उठाएका जायज मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताए ।

‘स्थानीय उत्पादनबाट आर्थिक समृद्धि सम्भव’

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले मुलुक आर्थिक घाटामा गइरहेको बताउँदै स्थानीय उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।मन्त्री काफ्लेले स्थानीय उत्पादन संरक्षण तथा प्रवद्र्धन गर्न प्रदेश सरकार अग्रसर रहने बताएका छन् । काभ्रेको बनेपामा शुक्रबार बनेपा बोइज क्लब (बीसीसी)द्वारा आयोजित ‘पाँचौं बनेपा महोत्सव–२०८१’ लाई सम्बोधन गर्दै मन्त्री काफ्लेले स्थानीय उत्पादन संरक्षण तथा प्रवद्र्धन गर्न प्रदेश सरकार अग्रसर रहेको बताए । पछिल्लो समय देशमा सबै क्षेत्रमा आर्थिक अवस्था घाटामा गइरहेकोले स्थानीयस्तरमा उत्पादन भएका सामग्रीको संरक्षण र प्रवद्र्धन गर्नाले आर्थिक समृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले यस प्रकारको मेला महोत्सवले स्थानीय उत्पादन तथा कलाको संरक्षण तथा प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । असोज ४ देखि १९ गतेसम्म चल्ने बनेपा महोत्सव–२०८१मा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने प्रमुख उद्देश्य रहेको बीबीसी अध्यक्ष महेशकुमार कर्माचार्यले जानकारी दिए ।

कर्माचार्यका अनुसार, कृषि, घरेलु सामग्रीलगायत १ सयभन्दा बढी व्यापारिक स्टल रहने महोत्सवमा बालबालिकाको मनोरञ्जनका लागि बालउद्यानको व्यवस्था गरिएको छ । प्रत्येक दिन राष्ट्रियस्तरका कलाकार सम्मिलित सांस्कृतिक कार्यक्रमका साथै जिल्लाभित्रका नवप्रतिभावान कलाकारलाई विशेष प्राथमिकता दिइनेछ । महोत्सवमा महिला भलिबल, युथ फुटबल, खुला नृत्य तथा गायन, मार्सलआर्ट र धिमेबाजा प्रतियोगितासमेत गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*