भेट्रान्स भलिबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा

साझाकुरा
२०८१ आश्विन ५, शनिबार १४:३९

हेटौंडा- हेटौंडाको हुप्रचौरमा जारी जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । शुक्रबारको खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो प्रतियोगिताको फाइनल प्रवेशको लागि मकवानपुरगढी गाउँपालिकाले नारायणी कलेजसँग र भीमफेदी गाउँपालिकाले हेटौंडा–१९ सँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको राक्सिराङ गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाबीचको क्वाटरफाइनल खेलमा मकवानपुरगढी गाउँपालिका विजयी भएको छ । राक्सिराङलाई २५–२१ र २५–२२ को सोझो सेटले पराजित गर्दै मकवानपुरगढी सेमिफाइनल प्रवेश गरेको हो ।

यसैगरी शुक्रबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा नारायणी कलेज विजयी भएको छ । बकैयाँ गाउँपालिकालाई २५–१० र २५–८ को सोझो सेटले पाखा लगाउँदै नारायणी कलेज सेमिफाइनल प्रवेश गरेको हो । तेस्रो खेलमा भीमफेदी गाउँपालिका विजयी भएको छ । थाहा नगरपालिकालाई २५–२३, २२–२५ र १५–८ को सेटमा पराजित गर्दै भीमफेदी गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो ।शुक्रबारको अन्तिम क्वाटरफाइनल खेलमा हेटौंडा–१९ विजयी भएको थियो ।

छहारी युवासेवा समाजलाई २५–२३ र २५–२३ को सोझो सेटले पराजित गर्दै हेटौंडा–१९ सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यान अफ द डे भीमफेदी गाउँपालिकाको खेलाडी रञ्जन अमात्य घोषित भए ।केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा ११ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सेटर र खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*