बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

साझाकुरा
२०८१ आश्विन ७, सोमबार ०९:५६

हेटौंडा- प्रदेशसभा सदस्यको सुझाव तथा नीतिगत मार्गदर्शन, सरकारमा सहभागी दलका घोषणापत्रमा उल्लेखित साझा विषयलाई सरकार सञ्चालनको मुख्य आधार बनाउने प्रतिवद्धता सहित बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम जारी गरेको छ । सरकारमा सहभागी नेपाली कांगे्रस र नेकपा (एमाले) बीच भएको सहमतिबमोजिम मन्त्रिपरिषद्को भाद्र २६ गतेको बैठकले पारित गरी नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको बताइएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामा र नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आइतबार सरकारको ६७ वटा बुँदामा न्यूनतम साझा कार्यक्रम जारी गरेका हुन् । राष्ट्रिय हीतको रक्षा र प्रदेशबासीको समृद्धिका लागि भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्न भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइने, संविधानको सर्वोच्चता, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउनेगरी सरकार सञ्चालन गर्ने, संघीय सरकारसँगको समन्वयमा प्रदेश प्रहरी तथा प्रदेश अनुसन्धान ब्युरो स्थापना गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सरकारले खटाउने व्यवस्थासहित प्रदेश निजामती सेवा ऐन र स्थानीय निकाय सञ्चालन ऐनको आवश्यक संशोधन रपरिमार्जन गरिने, प्रदेश सरकार, संघीय सरकारप्रति परनिर्भर नभई आत्मनिर्भर र स्वायत्तरुपमा कार्य गर्न अत्यावश्यक कानून निर्माण गर्ने, योजना तर्जुमा, प्रदेशको बोझिलो संरचनाको अडिट गरी चुस्त र व्यवस्थित बनाउने, भ्रष्टाचार शून्य प्रदेशको पहिचान बनाउन भ्रष्टाचार नियन्त्रणलाई कडाई गर्ने, बेरुजुलाई नियन्त्रण र न्यूनीकरण गर्ने, पदाधिकारी तथा कर्मचारीको क्षमता विकासमा जोड दिइने उल्लेख गरिएको छ ।

राजनीतिक नियुक्त गर्दा व्यक्तिको क्षमता, योग्यता, विज्ञता र संवन्धित क्षेत्रमा गरेको योगदानका आधारमा निश्चित मापदण्ड बनाइ व्यवस्थित गरिने, बाढी, पहिरो, आगलागी तथा अन्य प्राकृतिक विपदमा परेका नागरिकको उद्दार, राहत तथा पुनःस्थापना कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाइने, भौगोलिक विकटता र पिछडिएका वर्ग तथा क्षेत्रलाई प्राथमिकता दिइ सन्तुलित, वातावरणमैत्री, गुणस्तरीय तथा दीगो विकासको अवधारणालाई आत्मसात गरी आवश्यक कार्यक्रम ल्याइने बताइएको छ ।

प्रदेशको बढ्दो सहरीकरण तथा यातायातको चापलाई न्यूनीकरण गर्न बैकल्पिक यातायातको नवीन प्रविधिको रुपमा आएको पोडवे, मोनोरेल, स्काइ पोडलगायतको सम्भाव्यता अध्ययन गरी काठमाडौं उपत्यकालगायत प्रदेशको प्रमुखसहरमा योजना कार्यान्वयनका लागि पहल गर्ने, सहकारी क्षेत्रमा देखिएका चर्को समस्यालाई दृष्टिगत गरी प्रदेश सरकारद्वारा गठित सहकारी समस्या समाधान सहजीकरण समितिमार्फत् सहकारी क्षेत्रमा जनताले भोग्नु परिरहेका ज्वलन्त समस्याको पहिचान गरी समाधान गर्न विशेष पहल गरिने उल्लेखगरिएको छ ।

वनक्षेत्रको अतिक्रमणलाई कडाइका साथ रोकिने, सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को यथाशीघ्र व्यवस्था मिलाइने, सबै सरकारी कार्यालयमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिइने, विद्युतीय सवारीको आयात नीतिलाई सरलीकरण गरी सबै आयातकर्ताका लागि खुला गरिने, स्वदेशमै विद्युतीय सवारीसाधनको उत्पादनलाई प्राथमिकता दिइने, लगानी बोर्ड स्थापनाको प्रक्रिया यथाशीघ्र पूरा गरिने, विशेष आर्थिकक्षेत्र घोषणा गरी लगानीमैत्री वातावरण निर्माण गर्दै रोजगारी प्रवद्र्धन गर्न विशेष कार्ययोजना सञ्चालन गरिने उल्लेख छ ।

२०६५ देखि बन्द भएको हेटौडा–टेकु रज्जुमार्ग (रोप वे) लाई संघीय सरकारसँगको सहकार्य र समन्वयमा पुनः सञ्चालनमा ल्याइने वातावरण निर्माण गरिने कार्यक्रम अघि सारेको छ । बागमतीप्रदेशलाई प्रविधिमा आधारित पर्यटन र साहसिक पर्यटनका लागि अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आवश्यक नीति निर्माण गर्ने, सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने रपर्यटकका लागि आकर्षक बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मक रुपमा सौन्दर्यकरण गर्ने, होमस्टे पर्यटन, ग्रामीण पर्यटन, पर्यापर्यटन जस्ता समुदायमा आधारित पर्यटन व्यवसाय सञ्चालन गरिरहेकाउद्यमीका लागि आधारभूत विदेशी भाषा तालिम, सरसफाई र सुरक्षासम्बन्धी जनचेतना मूलक अभिमुखीकरण प्रदान गरी होमस्टे सेवालाई स्तरोन्नतीका लागि आवश्यक सहयोग गर्ने घोषणा गरिएको छ ।

एभोकाडो, ड्रागनफ्रुट लगायतका बजारमा अत्यधिक माग भएका फलफूल खेती गर्नका लागि कृषकलाई प्रोत्साहित गर्ने, संघ र स्थानीय तहसँग समन्वय गरी जमीनमा बाह्रैमहिना सिंचाई सुविधा पु¥याउने पहल गर्ने, प्रत्येक घरमा विजुली, प्रत्येक घरमा पक्की छाना भन्ने नाराकासाथ गरिब तथा विपन्न परिवारका लागि सुरक्षित आवासको व्यवस्था गर्ने, प्रदेश भित्र रहेका विभिन्न क्षेत्रका विशिष्ट प्रतिभाको खोजी गरी उनीहरुलाई संरक्षण गर्दै प्रतिभाको यथोचित कदर गर्ने वातावरण मिलाइने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*