चाडबाडमा हुने कालोबजारी नियन्त्रण गर्न सांसदको माग

साझाकुरा
२०८१ आश्विन ८, मंगलवार १०:१५

हेटौंडा- चाडपर्व नजिकिएसँगै हाम्रो समाजको प्रमुख समस्या भनेकै कालोबजारी, चोरी, डकैती नै हो । चाडपर्वमा कृत्रिम अभाव सृजना गरी महंगो मूल्यमा बिक्री गर्ने क्रम भने जुनसुकै सरकार आएपनि रोकिने सम्भावना पटक्कै छैन ।चाडपर्वको समयमा बढ्ने कालोबजारी नियन्त्रण गर्न बागमती प्रदेशसभा बैठकमै सांसदहरुले आवाज उठाएका छन् । सोमवार प्रदेशसभा बैठकमा सांसदहरुले चाडपर्वमा हुने कालोबजारी, यात्रु ठगी र दुर्घटनालगायत समस्या समाधान गर्न बागमती सरकारको ध्यानाकर्षण गराएका हुन् । यो ध्यानाकर्षणले कति काम गर्छ ? भन्ने विषयमा बहस गर्न सकिन्छ तर, बजारमा हुने कालोबजारीको गति प्रशासनिक संयन्त्रको नियन्त्रण भन्दा बाहिर छ ।

प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुखसचेतक रत्नप्रसाद ढकालले चाडपर्व नजिकिएसँगै प्रदेशवासीले सहज आवाजजावत गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीकी सांसद मायादेवी शर्माले चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न माग गरिन् । चाडबाडको समयमा आम उपभोक्ताले सामान्य अवस्थामा भन्दा बढी दैनिक उपभोग्य बस्तु खरिद गर्ने गरेका छन् । यही समयमा कालोबजारी गर्ने केही सीमित ब्यापारीले मौका छोप्ने गरेको उपभोक्ता बताउँछन् ।

हरेक वर्ष स्थानीय प्रशासनले अनुगमन पनि गरिरहेकै हुन्छ तर, कालोबजारी रोकिएको भने छैन । प्रदेशसभा बैठकमै सांसदहरुले यो विषयमा बहस गर्नुपर्ने अवस्था किन आएको छ ? चाडपर्वको समयमा सर्वसाधारणले आवाजजावत बढी गर्नुपर्ने हुँदा सडकको मर्मत गर्न सांसद शर्माले बागमती प्रदेश सरकारलाई आग्रह गरिन् । नेकपा एमालेकी सांसद शकुन्तला श्रेष्ठले चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनको उचित निगरानी र व्यवस्थापन गर्न माग गरिन् ।

सांसदहरुले चाडपर्वको समयमा चोरीडकैती, हत्याहिंसा जस्ता अपराधका घटना धेरै हुने गरेको भन्दै नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद रुकु चौलागाईले चाडपर्वमा सर्वसाधारणलाई समस्या हुने गरेको भन्दै बागमती प्रदेश सरकारलाई गम्भिर हुन आग्रह गरिन् । प्रदेशसभा बैठकमा ३६ जनाले भनाइ राखेका थिए । बैठकमा सांसदहरुले चाडपर्वलक्षित र सहकारी समस्याको विषयमा मुख्यमन्त्री बहादुरसिंह लामासँग जवाफ माग गरेका थिए । बैठकमा सांसद भुवनकेशरी श्रेष्ठले वर्तमान सरकार स्वार्थकेन्द्रित भएको आरोप लगाएकी छन् ।

सांसद मानकुमारी विश्वकर्माले दलित समुदायबाट एकजना पनि मन्त्री नबनाएको भन्दै आक्रोश पोखेकी थिइन् । सांसद प्रभात तामाङले सरकार गठनमा सन्तुलन नभएको आरोप लगाएका छन् । सांसदहरुले बैठकमा उठाएको प्रश्नको जवाफ दिँदै बागमती प्रदेशका मुख्यमन्त्री लामाले चाडपर्वलक्षित अनुगमनको पूर्वतयारी गरिसकेको बताए । उनले चाडपर्वमा हुने विभिन्न खालका समस्यालाई मध्यनजर गर्दै कानूनमन्त्री सुरजचन्द्र लामिछानेको नेतृत्वमा यातायात व्यवसायीलाई सचेत गराउनुका साथै क्षमताभन्दा बढी यात्रु नचढाउन निर्देशनसमेत दिइसकेको बताए ।

‘चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न सरकार गम्भिर छ, यस विषयमा हामी समिति बनाएर अनुगमन गर्छौं,’ मुख्यमन्त्री तामाङले भने, ‘यातायातको विषयमा सडकमा भएका खाल्डखुल्डीको समस्या समाधानको विषयमा लागि परेका छौँ ।’ मुख्यमन्त्री तामाङले सहकारी समस्याको विषयमा समिति बनेको र त्यो सबै समितिले नै हेरिरहेको बताएका छन् । बागमती प्रदेश सरकारले कार्यविधि बनाएर अगाडि बढिरहेको भन्दै मुख्यमन्त्री लामाले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेशसभाबाट तीनवटा विधेयक पारित

बागमती प्रदेश सभाको सोमबार बसेको बैठकबाट विभिन्न तीनवटा विधेयक पारित भएको छ । आइतबारको प्रदेशसभा बैठकमा विषयगत संसदीय समितिबाट आएका तीनवटै विधेयक पेश भएको थियो ।तीनवटा विधेयकलाई सोमबार अपरान्ह बसेको दोस्रो बैठकले सर्वसम्मतिबाट पारित गरिएको हो । बैठकले प्रदेश स्वास्थ्यसेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषिविकाससम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरेको हो ।

बैठकमा उद्योग वाणिज्य, भूमी तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगरले प्रदेश स्वास्थ्यसेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषिविकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनि पेश गरेका थिए ।

तीनवटा विधेयकमाथि बैठकमा छलफल भएको थियो । सांसदहरुले विधेयकमाथि आफ्नो धारणा राखेका थिए । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*