मन्त्रालयको कार्यस्थलमै शिशुको हेरचाहा

प्रतिक्षा न्यौपाने
२०८१ आश्विन ९, बुधबार १०:०३

हेटौंडा- बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कानूनअधिकृत राजेस तामाङले पारिवारिक जिम्मेवारी र पेशागत दायित्वबीच सन्तुलन कायम गर्ने उदाहरण प्रस्तुत गरेका छन् । तामाङले आफ्नो कार्यालयमा काम गर्दैगर्दा छोराको स्कूल पछिको समयमा पनि ध्यान दिइरहेका छन् ।तामाङको यो कदमले समाजमा बालबालबालिकाको हेरचाह गर्ने जिम्मेवारी केवल महिलाको मात्र हो भन्ने परम्परागत धारणालाई चुनौती दिएको छ । यसले पुरुष पनि शिशुस्याहारमा सक्रिय भूमिका निर्वाह गर्न सक्छन् र गर्नुपर्छ भन्ने सन्देश दिएको छ । राजेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कानुन अधिकृत हुन् । उनकी श्रीमती, माइती नेपालमा कार्यरत् छिन् । दुबै जना जागिरे भएका कारण बालबालिकालाई हेरचाहमा सामान्य समस्या पर्ने नै भयो ।

उनीहरुको बालबालिका दुईवटा छन् । जेठी छोरी ८ कक्षामा पढ्ने भएकोले उनी आफ्नो विद्यालयमा अध्ययन गर्ने घर जाने समय आफैं ब्यवस्थापन गर्न सक्छिन् । मन्त्रालयमा तामाङको कार्यकक्षमा सुतिरहेका छोरा ज्ञानोदय बालबाटिका स्कुलको शिशु कक्षामा पढ्न थालेका छन् । तामाङको घर हेटौंडा–२ मनकामनाचोक हो । दिउँसो साढे २ मा विद्यालयले शिशुकक्षाका विद्यार्थीलाई विदा दिन्छ । त्यसपछि राजेशले आफ्नो बाबुलाई आफ्नो कार्यकक्षमा ल्याएर राख्ने गरेका छन् ।

मन्त्रालयबाट छुट्टी भएर ५ बजेपछि मात्रै राजेशले आफनो बाबुलाई घर लैजाने गरेका छन् । मन्त्रालयमा काम गर्दागदै उनी छोरालाई लिन करिब १ किलोमिटर परको विद्यालय पुग्छन् । बालकलाई कार्यालयमा ल्याएर खाजा खुवाउने र हेरचाह गर्ने गर्छन् । पहिलो सन्तान छोरी पनि यसैगरी हुर्काएको उनको भनाई छ । उनको नाबालक छोरा बाबुसँगै कार्यालयमा बस्न रुचाउने गरेको राजेश बताउँछन् । तामाङको यो कदमले कार्यस्थलमा लैंगिक समानता, कामकाजी जीवन र पारिबारिक जीवन सन्तुलनको महत्वलाई उजागर गरेको छ ।

यसले सरकारी कार्यालयमा पारिवारिक जिम्मेवारीप्रति संवेदनशील वातावरण निर्माण गर्न सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । यसबाट मन्त्रालयको कामको ‘ईफिसेन्सी’ मा कुनै कमी हुन नदिएको राजेश बताउँछन् । बिगतका दिनमा संयुक्त परिवारमा रहँदा बालबालिकाको हेरचाहमा खासै समस्या आउने गरेको थिएन तर, पछिल्ला दिनमा एकात्मक परिवारको संख्या बढ्दो क्रममा रहेका कारण बिशेषगरी शिशुअवस्थामा बालबालिका हुर्काउन निकै कठिन अवस्था आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*