मनसुन पुनःसक्रिय, मकवानपुर उच्चजोखिममा

वर्षाका कारण बाढी, पहिरो र भू–क्षयको जोखिम
साझाकुरा
२०८१ आश्विन १०, बिहीबार १२:०३

हेटौंडा-जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहीवारदेखि मनसुन सक्रिय हुने जनाउँदै मकवानपुर उच्चजोखिममा रहेको पूर्वानुमान गरेको छ । महाशाखाकाअनुसार बिहीबारदेखि मनसुन सक्रियन हुने भएको छ । बुधवार दिउँसबाटै हल्का वर्षा भने सुरु भइसकेको छ । बुधवार हेटौंडा बजारसहित मकवानपुरका अधिकांश भूभागमा हल्का वर्षा भएको थियो । विगत चार दिनदेखि चर्को गर्मी पश्चात वर्षा भएपछि सर्वसाधारणले राहतको महशुस गरेका छन् ।

महाशाखाबाट आगामी आइतबारसम्म मनसुन सक्रिय हुने भएकाले मकवानपुरसहित ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरेको हो । बागमती प्रदेशको १२ जिल्लामा उच्चजोखिम रहेको महाशाखाले जनाएको छ । उच्चजोखिम भएका बागमतीका १२ जिल्लामध्ये अग्रस्थानमा मकवानपुर रहेको छ । महाशाखाले दोलखालाई भने ‘रेड अलर्ट’ जारी गरेको छैन । मकवानपुरपछि क्रमशः चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं भक्तपुर, ललितपुर काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा ‘रेड अलर्ट’ जारी गरिएको हो ।

जसमध्ये काठमाडौं र भक्तपुर बाहेकका सबै जिल्ला भौगोलिक रुपले विकटसँगै बाढी र पहिरोको जोखिम भएको जिल्ला हुन् । काठमाडौं र भक्तपुरमा भने बाढीको उच्चजोखिम रहेको छ । महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण देशभर मनसुन सक्रिय भएको जानकारी दिए । मनसुन सक्रिय भएपछि देशका अधिकांश स्थानमा मेघगर्जन÷ चट्यांकसहित वर्षा हुने उनको भनाइ छ । वर्षाका कारण बाढी, पहिरो र भू–क्षयको जोखिम रहने सम्भावना छ ।

रातको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी र तराईक्षेत्रमा डुबानको जोखिम रहेको विभागको भनाइ छ । ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, गण्डकीको १० जिल्ला, लुम्बिनीको १२ जिल्ला, कर्णालीको ५ जिल्ला र सुदूरपश्चिमको ३ जिल्लामा उच्चजोखिम रहने जानकारी दिएको छ । बढी जिल्ला उच्चजोखिम भएको प्रदेश बागमती र लुम्बिनीका १२–१२ जिल्ला रहेका छन् । महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा र हिमाली दुई जिल्ला (मुगु र हुम्ला) न्यून जोखिममा छन् ।

यो वर्षाले विषेशतः कृषिक्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषिकर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरिएको छ । मौसमविदले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्चसतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरेका छन् ।

मकवानपुरमा कहा“–कहा“ जोखिम छ ?
२०७२ सालको भूकम्प पछि भएका सरकारी अध्ययनहरुले मकवानपुरका १० स्थानीय तहका विभिन्न ३४ स्थान विपद्को उच्चजोखिममा रहेको देखाएको थियो ।मकवानपुरले हरेक वर्ष बाढी, पहिरो, डुबान चट्याङलगायत प्राकृतिक जोखिम वहन गरिरहे पनि जोखिम न्यूनीकरणमा प्रभावकारी काम हुन सकेको छैन । मकवानपुरमा दुई हजार एक सय ६५ भन्दा धेरै घर प्राकृतिक प्रकोपको अति जोखिममा रहेको २०७८ सालकै अध्ययनले देखाएको हो । तीमध्ये राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदीलगायतका स्थानीय तहमा करिब एक हजार तीन सय घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा थिए । उनीहरुको स्थानान्तरणको अवस्थाको तथ्यांक कुनैपनि पालिकासँग छैन ।

जिल्लाको राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी, बकैया र बागमती गाउँपालिका पहिरोको जोखिममा छन् । जसमध्ये राक्सिराङ र कैलाश गाउँपालिका पहिरोको उच्चजोखिममा छन् । हेटौंडा, मनहरी, बागमती गाउँपालिका बाढीको उच्चजोखिमयुक्त क्षेत्र हुन भने थाहा नगरपालिका, बकैया, भीमफेदी, इन्द्रसरोबर, मकवानपुरगढी, राक्सिराङ तथा कैलाश गाउँपालिका बाढी र पहिरो दुवैको जोखिम क्षेत्रको रुपमा रहेको छन् ।

पूर्वीक्षेत्रस्थित बागमतीको बागमती नदीसहित चौराखोला र चुरेबाट झर्ने दर्जन बढी खहरे खोलाको कारण यहाँ वर्षेनि सयौं हेक्टर जमिन कटान हुनुको साथै मानवीय क्षति हुने गरेको छ । पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ तथा कैलाश गाउँपालिकामा रहेका मनहरीखोला, लोथरखोला तथा राप्तीखोलाले वर्षेनी ठुलो मात्रामा जमिन कटान गर्नुको साथै बस्तिमा खोला पस्ने समस्या रहेको छ । मकवानपुरगढीको आमभञ्याङ, सुकौरा, बुढीचौर क्षेत्रमा बाढी तथा पहिरोको उच्चजोखिम रहँदै आएको छ भने शिवम् सिमेन्टको खानीको अव्यवस्थित उत्खनन्को कारण यि क्षेत्रमा पहिरोको पनि उच्चजोखिम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*