थाहाका खोलामा माछा मार्नेलाई कारबाही

साझाकुरा
२०८१ आश्विन १०, बिहीबार १२:३६

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाले स्थानीय खोलामा माछालगायत जलचर मार्ने कार्यमा संलग्नलाई कारबाही गरेको छ ।खोलामा करेन्ट लगाएर माछा मार्ने ५ जनाको समूहलाई नियन्त्रणमा लिएर नगरपालिकाले कारबाही गरेको हो । पालिकाबाट खटिएको नगरप्रहरीले सोमबार माछा मार्ने समूहको २ वटा बाल्टिन र ५० मिटर विद्युत् जडान गर्ने तारसमेत जफत गरेको कार्यालयले जनाएको छ । उनीहरुलाई कारबाही सहित ५ हजार रुपैयाँ जरिवाना लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।

खोलाबाट उनीहरुलाई सोमबार नियन्त्रणमा लिएर मंगलबार नगरपालिकाले दण्ड जरिवानासहित कागज गराएर छाडेको गिरीको भनाई छ । थाहा नगरप्रहरीको सक्रियतामा नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने पालुङ खोलामा माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । माछा मार्ने क्रममा नियन्त्रणमा लिइएकाहरुलाई मंगलबार नगरपालिकामा ल्याई थाहा नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, २०७६ बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

नियन्त्रणमा लिइएकाहरुले कानुन कहिल्यै उल्लंघन नगर्ने र नगरपालिकाले चलाएको सकारात्मक अभियानमा सधैं सहयोग गर्ने बताएका छन् । उनीहरुले भुलबस गलत काम गरेको स्वीकार्दै यस्तो भूल नगर्ने प्रतिबद्धता जनाएको नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले बताए । थाहा नगरपालिकाले विभिन्न खोलामा माछाका भुराहरु छोड्ने काम गरेको छ ।नगरपालिकाको खोलामा विद्युत् तथा विभिन्न केमिकल प्रयोग गरी जलचर माछा समात्ने तथा मार्ने कार्य नगर्न÷नगराउन सूचना जारी गरी सबैलाई सूचित गराएको छ । प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको ऐन २०७६ मा माछालगायत जलचर समात्ने वा माने कार्य गरिएको पाइएमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने तथा जलचर संरक्षण ऐन २०५५ (संशोधन) अनुसार ५ हजार रुपैयाँ जरिवाना वा ६ महिनासम्म कैद गर्ने कानुनी व्यवस्था गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*