गाँजा तस्करीका आरोपित प्रहरी हवल्दारसहित तीनजना पुगे कारागार

साझाकुरा
२०८१ आश्विन ११, शुक्रबार ०८:३१

हेटौंडा- लागूऔषध कारोबार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले प्रहरी हवल्दारसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बिहीबार बसेको इजलासले गाँजा ओसारपसार गरेको आरोपमा चितवन राप्ती नगरपालिका–१ परेवाकोटका २० वर्षीय धनबहादुर स्याङ्तान, वडा नम्बर २ का ३६ वर्षीय सुनिल मोक्तान र तनहुँ घरभई चितवनमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय निमबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

हवल्दार गुरुङ ईलाका प्रहरी कार्यालय भण्डारा चितवनमा कार्यरत थिए ।तीनै जनालाई भीमफेदी कारागार पठाइसकेको छ । गुरुङ पक्राउ पर्नेवित्तिकै निलम्बित भइसकेका छन् । २०८१ असार १२ गते हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे प्रहरीचौकीका प्रहरीले हेटौंडाबाट पथलैयातर्फ गइरहेको ना ५ ख १११८ नम्बरको डिब्बा गाडी रोकेर जाँच गर्दा १ सय ६२ केजी गाँजा फेला पारेको थियो ।गाडीमा फल्सवटम बनाएर १६ वटा प्लास्टिकको पाकेटमा गाँजा प्याक गरी लुकाएर ल्याएका थिए । प्रहरीले गाँजासहित गाडी चालक धनबहादुर र सुनिललाई पक्राउ गरेको थियो । उनीहरुको बयानअनुसार हवल्दार गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*