हेटौंडा–काठमाडौं जोड्ने प्रमुखमार्ग अवरुद्ध, स्वास्थ्यसेवा प्रभावित

साझाकुरा
२०८१ आश्विन १२, शनिबार ०८:४०

हेटौंडा- शुक्रबार बिहानदेखि निरन्तरपरेको वर्षाले हेटौंडा–काठमाडौं जोड्ने दुईवटा प्रमुखमार्गमा पहिरो खसेको छ । पहिरो जाँदा हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्ड र कान्तिलोकपथ खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।यी दुवै सडक खण्डमा बिहान पहिरो जाँदा पहिरो पन्छाएर एकतर्फी सडक सुचारु गरिएको थियो । दिउँस पुनः ठूलो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरीनिरीक्षक ठाकुरप्रसाद सापकोटाकाअनुसार हेटौंडा–कुलेखानी खण्डको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा अपरान्ह ४ बजे पहिरो खसेर सडक पूर्णरुपमा अवरोध भएको छ ।

कान्तिलोकपथअन्तर्गत् बकैया गाउँपालिका–११ आँपचौर र लाम्राङ भन्ने ठाउँमा दिउँसो २ बजे पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको प्रवक्ता सापकोटाले जानकारी दिए । अवरुद्ध कान्तिलोकपथ आज शुक्रबार खुल्ने सम्भावना नरहेको उनको भनाई छ ।शुक्रबार साँझदेखि हेटौंडा काठमाडौं यात्रा गर्ने सवारीसाधनलाई त्रिभुवन राजपथबाट मात्र आवतजावत गर्न दिइएको छ । सुरक्षाको कारण देखाएर भीमफेदी–कुलेखानी सडकमा यात्रा गर्न रोक लगाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, अविरल वर्षाका कारण थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्यकेन्द्रले स्वास्थ्यसेवा स्थगित गरेको छ । १२ असोज शनिबारलाई तय भएको स्त्रीरोग, प्रसुती तथा भिडियो एक्सरे विशेषज्ञसेवा वर्षाको कारण अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको प्राथमिक स्वास्थ्यकेन्द्र पालुङले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*