सिस्नेरीमा पहिरोमा पुरिएर एन्फा एकेडेमीका ६ बालकको मृत्यु

साझाकुरा
२०८१ आश्विन १३, आईतवार ०९:३८

हेटौंडा- मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना बालक मृत भेटिएका छन् ।सुरक्षाकर्मी र स्थानीयको उद्दार टोलीले शनिवार अपरान्ह साढे ५ बजे विद्यालयको फुटबल एकेडेमी भन्दा करिब ६० मिटर तल पहिरोले पुरिएको अवस्थामा मृत फेला पारिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका निमिक्त प्रवक्ता प्रहरी नायवउपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । स्थानीय बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेकामध्ये ६ जना शनिबार बिहान पहिरोले पुरिँदा बेपत्ता भएका थिए ।

मृत्यु भएका ६ जनाको पहिचान भएको डिएसपी बस्नेतले बताए । सर्लाही घर भएका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौं कलंकी घर भएका ११ वर्षीय प्रियान्स आचार्य, मकवानपुर हेटौंडा घर भएका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घर भएका १४ वर्षीय साईमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवस बानियाँ रहेका छन् एकेडेमीमा फुटबल प्रशिक्षण गरिरहेका अन्य ३० जना बालक, एकजना प्रशिक्षक, एक जना शिक्षकसहित मृत्यु भएका ६ जना बालकको शव नेपाली सेनाको हेलिकप्टरमा काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र विद्यालयबीच सम्झौता भएर गतवर्षबाट एकेडेमी सञ्चालन गरी ४० जना बालबालिकालाई प्रशिक्षण गराउँदै आएको थियो । विद्यालयले करिब ५ वर्ष अघि मात्रै भिरालो डाँडो भत्काएर मैदान बनाएको थियो ।मैदान बनाउँदा टेकर बजारतर्फको भिरालो डाँडा जोखिमयुक्त पारिएको थियो । विद्यालय पनि सिस्नेरी खोला छेउमै रहेको छ । कुलेखानी जलाशयले शनिबार बिहानै ढोका खोलेर पानी छोडेपछि सिस्नेरी खोलामा बाढी आएको थियो । खोलामा बाढी आएपछि टेकर बजारतर्फ जान हिँडेका ६ जना बालकलाई पहिरोले पुरेको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको हो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा उनीहरु बेपत्ता भएका हुन् । टेकर बजारतर्फ जान लागेका उनीहरुलाई माथिबाट लेदोसहितको पहिरोले पुरेको थियो ।अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएपछि पानी ‘स्पिल वे’बाट बाहिर जान थालेको कारण शनिबार बिहान ५ः४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ । पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत्गृहलाई निरन्तर रुपमा पूर्णक्षमता चलाइएको थियो । विद्युत्गृहलाई पूर्णक्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता अनुसार भरिएको हो ।

जलाशययमा पानीको तह समुद्री सतहबाट १५३०.९३ मिटर पुगेको थियो । केन्द्रका प्रमुख तारादत्त भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिकरुपमा खोलिएको हो । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरी सहित अविरल वर्षा भइरहेकाले दुईवटै ढोका पूर्णरुपमा खोल्नुपर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले उल्लेख गरे । बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीयक्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरपरक्षेत्रका स्थाानीय बासिन्दालाई समयमै सुरक्षित र उच्चसतर्कताका साथ रहन केन्द्रले शुक्रबार आग्रह गरेको थियो ।

निरन्तरको वर्षापछि भरिएको कुलेखानी जलाशय ५ मिटर घटाएको छ । विद्युत् उत्पादन र बाँधका २ वटा ढोका खोलेर कुलेखानी जलाशय ५ मिटर घटाइएको हो । हाल कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७.६० मापन गरिएको छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।मुलुकमा मागभन्दा कम विद्युत् उत्पादन भएका बखत मात्र यो आयोजना सञ्चालन गरिन्छ । यसपटकको वर्षाका कारण बाँध भरिएर जोखिम बढेपछि विद्युत् उत्पादन नियमित गरिएको हो । ४ दिन अघि ७०० मेगावाट विद्युत् उत्पादन गरिएको कुलेखानीबाट जोखिम घटाउन कुलेखानी पहिलो आयोजना सञ्चालनमा ल्याएको उनले बताए । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*