हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द, तीन जिल्लाको सम्पर्क टुट्यो

साझाकुरा
२०८१ आश्विन १३, आईतवार ०९:५९

हेटौंडा- हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् ।हेटौंडाबाट काठमाडौं आउने कान्तिलोकपथ, राजधानी मार्ग (भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं), कुलेखानी–फाखेल–काठमाडौं, कुलेखानी–मातातीर्थ–काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् । सडक विभागका महानिर्देशकले विभागको पहिलो प्राथमिकता बन्द रहेका सडक खुलाउने बताएका छन् । ‘पानी परिरहेको बेला पहिलो ध्यान मानवीय उद्दार र राहतमा भयो, अबको प्राथमिकता सडक खुलाउन हुनेछ,’ उनले भने, ‘कतिपय स्थानमा अस्थायी पुलहरु पनि बनाउनु पर्ने देखिएको छ, त्यसमा पनि काम गछौं । अबको प्राथमिकता सडक सूचारु गराउनु हुनेछ ।’

मकवानपुरको भीमफेदी गाउँपालिका र बागमती गाउँपालिकामा रहेका दुईवटा बागमती पुलसँग जोडिएको सडक बगाउँदा तीन जिल्लाको सम्पर्क टुटेको छ । अविरल वर्षाका कारण बागमती गाउँपालिका–४, स्थित पाँचपाण्डबमा रहेको बागमती पुलको दक्षिणतर्फको सडक र भीमफेदी गाउँपालिका–८ इपास्थित बागमती पुलसँग जोडिएको १० मिटर सडक बागमती नदीले बगाएको हो । कुलेखानी जलाशयको ढोका खोल्दा बागमती नदीमा आएको भिषण् बाढीले भीमफेदीस्थित पुलमा क्षति पु¥याएको छ ।

बागमती गाउँपालिकाको पुलको सडक बगाउँदा मकवानपुर–सिन्धुली र भीमफेदीको बागमती पुलको सडक बगाउँदा मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको हो । यी दुवै पुलको सडक बगाउँदा धरान–चतरा–हेटौंडा (मदन भण्डारीमार्ग) र कान्तीलोकपथ सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरीनिरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने छोटा मार्गहरु अवरुद्ध भएका छन् । मकवानपुरको भैंसे, जुरिखेतमा पहिरो जाँदा र कुलेखानी जलाशय नजिकैको हेभीस्थित पक्की पुल बगाउँदा हेटौंडा–काठमाडौं जोड्ने सडक खण्डहरु अवरुद्ध बनेका छन् । यसैगरी, बर्षाको कारण मकवानपुरको बकैया गाउँपालिका–१० घट्टेखोला नजिकै रहेका १० वटा घरहरु बागमती खोलाको पानीको बाहाव बढेको कारण उच्चजोखिममा रहेको इन्स्पेक्टर सापकोटाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*