सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

साझाकुरा
२०८१ आश्विन १३, आईतवार १०:०७

हेटौंडा-अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको उत्तरीक्षेत्रस्थित ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।सिस्नेरी प्रहरीचौकीका इञ्चार्ज प्रहरी सहायकनिरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए । बाढीका कारण ईन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार विहान बाँधका दुईवटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ ।

बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । उनीहरुलाई आफन्तकोमा आश्रय लिएर बस्ने ब्यवस्था मिलाइएको बताइएको छ । साथै, मकवानपुरको बकैया गाउँपालिका–४ नम्बर वडामा रहेको जुरेली बजार करिब ३० वर्ष पछि डुबानमा परेको छ । बर्षाका कारण बढेको सिमात खोलाको बाढी छिरेपछि शनिबार बिहान जुरेली बजार डुबानमा परेको हो ।

बाढीले पशुचौपाया तथा खेतहरु बगाएको स्थानीय सबिन खड्काले जानकारी दिए । उनका अनुसार बाढीले स्थानीय त्रासमा छन् । यसअघि आफूले बजार डुबेको नदेखेकोले अचम्मित परेको खड्काले बताए । बकैयाको दुई ठूलो खोला सिमात र बकैया खोलाले तटीयक्षेत्रमा उच्चजोखिम तथा क्षति पु¥याउन सक्ने उनको अनुमान छ ।अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबन लगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्चसतर्क अवस्थामा राखिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*