बागमतीमा विपदबाट ३० जनाको मृत्यु, ३२ जना बेपत्ता

साझाकुरा
२०८१ आश्विन १३, आईतवार १०:१४

हेटौंडा- बागमती प्रदेशका उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा ११ र १२ असोज दुईदिनमा विपदका घटनाबाट ३० जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले अद्यावधिक तथ्यांकअनुसार ३० जनाको मृत्यु र ३२ जना बेपत्ता भएका छन् । आज शनिवार अपरान्ह ४ बजेसम्मको तथ्यांकअनुसार २१ जनाको मृत्यु र २५ जना बेपत्ता भएका थिए । प्रदेश प्रहरी कार्यालयका निमित्तप्रवक्ता प्रहरी नायवउपरीक्षक जीतेन्द्र बस्नेतका अनुसार साँझ ६ बजेसम्म ३० जनाको मृत्यु, ३५ जना घाइते र ३२ जना बेपत्ता भएको जानकारी दिए ।

दुई दिनमा बाढी, पहिरो लगायतका विपतका घटनाबाट सबैभन्दा बढी काभ्रेमा १० जनाको मृत्यु, २१ जना बेपत्ता र १३ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मकवानपुरमा पहिरोले पुरिएर ७ जनाको मृत्यु १ जना घाइते भएका छन् ।सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ६ जनाको मृत्यु ४ जना बेपत्ता र १६ जना घाइते, दोलखामा पहिरो खसेर ३ जनाको मृत्यु १ जना घाइते र ४ जना बेपत्ता भएको डिएसपी बस्नेतले जानकारी दिए । उनका अनुसार धादिङ, नुवाकोट, रामेछाप र सिन्धुलीमा १–१ जनाको मृत्यु भएको छ । धादिङमा ३ जना बेपत्ता, दुई जना घाइते तथा नुवाकोट र सिन्धुलीमा १–१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

चितवन र रसुवामा विपदबाट हालसम्म मानवीय क्षति नभएको डिएसपी बस्नेतले जानकारी दिए । विपदका घटनाबाट ९२ वटा घरमा पूर्ण र २ वटा घरमा आशिंक क्षति पुगेको डिएसपी बस्नेतले जानकारी दिए । २२२ परिवार र २८ घर प्रभावित क्षेत्रबाट स्थानान्तरण भएको उनले बताए । ५ वटा पुल तथा कल्भर्टमा क्षति पुगेको छ । ८७ वटा घर तथा कार्यालय उच्चजोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेशभर ३७ वटा सडक सञ्जालमा अवरोध पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*