कुलेखानी जलाशयको बाँधका ढोका बन्द गरिए

साझाकुरा
२०८१ आश्विन १४, सोमबार १०:२८

हेटौंडा- कुलेखानी जलाशयको बाँधका दुवै ढोका बन्द गरिएको छ । जलाशयमा पानीको सतह स्थिर बनेपछि शनिबार रातिबाट बाँधका दुवै ढोका बन्द गरिएको हो । कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार कुलेखानीमा हाल १ हजार ५२८ मिटर पानीको सतह मापन गरिएको छ ।पानीको सतह बढ्ने दर कम भएपछि बाँधका ढोका बन्द गरिएको उनले बताए । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५ बजेबाट बाँधका २ वटा ढोका खोलिएको थियो । ढोका खोलेर जलाशयको पानी निकासा गरेको १२ घण्टापछि दुवै ढोका बन्द गरिएको हो ।

हाल कुलेखानीमा प्रतिघण्टा ३ सेन्टिमिटरका दरले पानीको सतह बढिरहेको उनले बताए । कुलेखानीका ३ वटै विद्युत् गृहबाट विद्युत् उत्पादन गरेर जलाशयमा पानीको सतह बढ्न नदिएको उनले बताए । शनिबार साँझ १० सेन्टिमिटर प्रतिघण्टाको दरले बढेको कुलेखानी जलाशय हाल वृद्धिदर घटिरहेको उनको भनाई छ । नेपाल विद्युत् प्राधिकरणको ‘व्याकअप’ मानिने कुलेखानी जलाशयबाट ६० मेगावाट कुलेखानी प्रथम, ३२ मेगावाट कुलेखानी दोस्रो र १४ मेगावाट कुलेखानी तेस्रो जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।

‘अहिले ३ वटै आयोजना नियमित चलाइएको छ । पानीको सतह बढी हुँदा नियमित गर्ने योजना नै थियो । तर, अहिले अपरतामाकोशी जस्ता ठुला आयोजनाको विद्युत् उत्पादन बन्द हुँदा कुलेखानी नियमित चलाउनुपरेको छ । हाल जलाशयमा पानीको सतह ३ सेन्टिमिटर प्रतिघण्टाको दरले बढिरहेको छ । वर्षा रोकिएको र आयोजना सञ्चालनबाट जलाशयमा पानीको सतह वृद्धिदर कम भएकाले बाँधका ढोका बन्द गरिएको हो’ उनले भने ।

शनिबार बिहान कुलेखानी जलाशय भरिएर १ हजार ५३१ मिटर पुगेको थियो । कुलेखानीमा १ हजार ५३० मिटर मात्र पानी संकलन गर्ने क्षमता रहेको छ । क्षमता भन्दा बढी पानी भरिएपछि जलाशय स्वतः ओभरफ्लो हुने गर्दछ । ओभरफ्लो भएपछि कुलेखानी जलाशयको २ वटा ढोका शनिबार दिनभर ४ मिटरसम्म खोलिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*