‘छोरा अनुपम मैले तिमीलाई बचाउन सकिन’

साझाकुरा
२०८१ आश्विन १४, सोमबार १०:३३

हेटौंडा- सिस्नेरी पहिरोमा पुरिने अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानका छोरा हुन् । एक्लो छोरालाई फुटबल सिकाएर खेलाडी बनाउने ललितको सपना बीचमै टुटेको छ ।उनले छोराको मृत्युको खबरपछि सामाजिक सञ्जालमा लेख्दै भने, ‘छोरा अनुपम मैले तिमीलाई बचाउन सकिन ।’ अनुपम सानो उमेरबाटै फुटबलमा रुचि राख्ने भएकाले ललितले शुल्क तिरेर एकेडेमीमा छोरालाई फुटबल सिकाएका थिए । घलानले छोराको इच्छा र फुटबलप्रतिको लगावले इन्द्रसरोबरको सिस्नेरीस्थित एकेडेमीमा पठाएका थिए । अनुपमले हेटौंडामा भएको छनोटचरण पार गरेका थिए ।

नियमितजसो फुटबल खेल्न निस्किने बेला कुलेखानीको पानीले एकेडेमी पछाडिको खोला बढेपछि बिहान ६ बजे माथिको टेकरबजारमा सुरक्षित ठाउँ खोज्न जाँदा उनीसहित ६ जनालाई पहिरोले पुरेको थियो । छोरालाई पहिरोले पुरिएको खबर आउनासाथ घलान बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई लिएर सिस्नेरीतर्फ हिँडे पनि बाटोभरि पहिरो खसेकाले त्यस स्थानमा पुग्न सकेनन् । प्रदेश सांसद पुलामीले साझाकुरासँग कुरा गर्दै भैंसेबाटै फर्किन लागेको बताएका थिए ।

नेकपा माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिकामा एउटा मात्र वडा जित्दा घलान १२ नम्बर वडाको अध्यक्षमा विजयी भएका थिए । तत्कालीन गठबन्धनमा जिसस माओवादीको भागबण्डामा परेपछि वडाध्यक्ष छोडेर घलान जिसस प्रमुख हुन आए । सोही १२ नम्बर वडामा उपनिर्वाचन हुँदैछ । घलान राजनीतिसँगै आफ्नै ठाउँमा सयपत्रि र मखमली फूलको खेती गर्दै आएका छन् ।एन्फा केन्द्रीय सदस्य तथा एन्फा मकवानपुर अध्यक्ष टीका लामाका अनुसार एन्फाले राखेका २५ जना, स्थानीयस्तरबाट छनोट भएका ५ जना र शुल्क तिरेर सहभागी भएका १० जना गरी ४० जनाले फुटबल सिकिरहेका थिए । नेपाली सेनाको हेलिकप्टरबाट शनिवार साँझ उद्दार गरिएका सबै जनालाई काठमाडौंस्थित एन्फा कार्यालय र ६ जनाको शव शिक्षण अस्पताल लगिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*