दामन वर्षामापन केन्द्रको ३१ वर्षपछि ‘रेकर्ड ब्रेक’

साझाकुरा
२०८१ आश्विन १४, सोमबार १०:३४

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा राखिएको वर्षामापन केन्द्रले ३१ वर्षपछि ‘रेकर्ड ब्रेक’ गरेको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको वर्षामापन केन्द्रहरुको विवरण अनुसार दामनले पनि ‘रेकर्ड ब्रेक’ गरेको हो ।वर्षामापन केन्द्र दामनको रिपोर्ट अनुसार १२ असोजमा मापन गरिएको २४ घण्टाको वर्षा ४१० मिलिमिटर मापन गरिएको छ । दामनमा यसअघि २० जुलाई १९९३ अर्थात २०५० साल साउन ५ गते ३७३.२ मिलिमिटर वर्षामापन भएको थियो । विभागले १४ जिल्लाका २५ वटा केन्द्रमा ‘रेकर्ड ब्रेक’ वर्षामापन भएको जनाएको छ ।

काठमाडौंको पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जीतपुरफेदी र नागार्जुन, ललितपुरको गोदावरी, खुमलटार, टीकाथली, खोकना, चापागाउँ र भक्तपुरको नखेल वर्षामापन केन्द्रले २४ घण्टाअवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाका अनुसार अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, काभ्रेको खोपासी, पाँचखाल र धुलिखेलमा पनि रेकर्डब्रेक वर्षा भएको छ । त्यस्तै मकवानपुरको दामन, नुवाकोटको ककनी, पाल्पाको बल्ड्याङगढी, पाँचथरको फिदिम, सिन्धुपाल्चोकको बाहुनेपाटी र तनहुँको सखर तथा खैरेनीटारको वर्षामापन केन्द्रमा पनि अहिलेसम्मको धेरै वर्षा रेकर्ड भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*