बाढीपहिरोबाट थाहामा ठूलो भौतिक क्षति

साझाकुरा
२०८१ आश्विन १४, सोमबार १०:३७

हेटौंडा- थाहा नगरपालिकामा गत १० असोजदेखि शनिवार रातीसम्म परेको अविरल वर्षाका कारण ठूलो भौतिक क्षति हुन पुगेको छ । सडक पूर्वाधार, खेतीबाली, आवास, पशुचौपाय आदिमा क्षति पुगेको हो ।बाढीपहिरोबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । थाहानगरमा वर्षाका कारण दर्जनौं घरहरु भत्केका छन् । प्रारम्भिक विवरण अनुसार थाहा–२ का रामभक्त कार्की र शेरबहादुर तामाङको घर भत्किएको छ । त्यसैगरी थाहा–६ का नवराज सुवेदीको घरगोठ र रत्नलाल बलामीको गोठ भत्केको छ, भने थाहा–९ मा शालिग्राम लामिछाने र चिरञ्जीवी लामिछानेको घर भत्किएको छ ।

थाहा–११ मा आइते थोकरको घर र थाहा–८ मा बालकुमार नेपालीको गोठ भत्किएको छ । थाहा–४ सीमभञ्ज्याङका रामकुमार गोले र सुन्तली गोले तथा थाहा–११ का सुकराम थोकर घरबाट बिस्थापित भएका छन् । थाहा–५ का उमेश गुरुङ र दीप गुरुङको घर पूर्णजोखिममा परेको जनाइएको छ । गोठ भत्किएर पुरिँदा दर्जन बढी बाख्राहरु मरेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।थाहा–६ मा नवराज सुवेदीको घरगोठ भत्किंदा त्यसमा पुरिएर एउटा गाई र ६ वटा बाख्रा मरेका छन् भने थाहा ६ कै रत्नलाल बलामीको गोठले थिचेर ८ वटा बाख्रा मरेका छन् । थाहा ८ का बालकुमार नेपालीको गोठ भत्किएर पुरिँदा २ वटा बाख्रा मरेका छन् । नगरपालिकामा पर्ने त्रिभुवन राजपथ खण्डदेखि नगरभित्रका सडकहरु वर्षा र पहिरोका कारण क्षेतविक्षत भएको छ ।

राजपथको कैयौं स्थानमा पहिरो जानुका साथै सडकमाथि पहिरो थुप्रिंदा सवारी आवागमन अवरुद्ध भएकोमा १३ असोजबाट पालुङ–हेटौंडा खण्ड खुलेको छ ।थाहानगरको दामन–डाँडाबास, शिखरकोट–आग्रा सडकमा ठूला गाडी चल्न सकेका छैनन् । भित्री सडकका पुलहरुसमेत जोखिममा परेका छन् । थाहा नगरपालिका–३ बागेखोलाको पक्की पुल जोखिममा परेको छ भने बागेखोला बस्ती पनि जोखिममा परेको छ । यसैबीच पालिकाकेन्द्रबाट प्रत्येक वडा जोड्ने सडक आंशिक खुलेका छन् । अधिकांश सडकहरु अवरुद्ध छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*