बागमतीमा मृतकलाई तत्काल दुई लाख, अस्थायी आवास बनाउन एक लाख

साझाकुरा
२०८१ आश्विन १५, मंगलवार १०:०६

हेटौंडा- बागमती प्रदेशको सर्वदलीय बैठकले १० असोजदेखि परेको वर्षाका कारण विपद्बाट मृत्यु भएकाको परिवारलाई तत्काल दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ ।मुख्यमन्त्री बहादुरसिं लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुर जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठकले विपद्बाट प्रभावित प्रदेशभित्र बसोबास गर्ने परिवारलाई राहत तथा क्षतिपूर्तिस्वरुप प्रतिमृतक दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढीपहिरोले आवास विहीन भएका प्रभावित परिवारलाई अस्थायी संरचना निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णय गरिएको नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक गोविन्द लम्सालले जानकारी दिए । बाढीपहिरोले बागमती प्रदेशका १३ जिल्लामा १ सय ३९ जनाले ज्यान गुमाएका छन् । ५५ जना अझै बेपत्ता छन् । २२६ परिवार प्रभावित हुँदा ३१ वटा घरमा पूर्णक्षति भएको छ ।सर्वदलीय बैठकले तत्काल उद्दार, राहत र पुनर्निर्माणमा जुट्ने निर्णय गरेको सचेतक लम्सालले जानकारी दिए । बैठकले घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, भौतिकरुपमा क्षति भएका सडक, पुल, विद्युत, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्लास्थित प्रदेश मातहतका कार्यालयमार्फत वजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

सर्वदलीय बैठकमा बागमतीका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेमकिपाका नेता सुरेन्द्रराज गोसाई, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य,कांग्रेस सचेतक लम्साल, नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेल, माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका बसन्त मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*