धमाधम राजमार्गको पहिरो पन्छाउँदै

साझाकुरा
२०८१ आश्विन १६, बुधबार १६:३२

हेटौंडा-बाढीपहिरोले अबरुद्ध भएका राष्ट्रिय राजमार्ग, प्रादेशिक सडक तथा स्थानीय सडकहरु खुलाउन पालिका जनप्रतिनिधि, बागमती प्रदेश सरकारका सचिवदेखि मन्त्रीसम्म आफैँ खटिएका छन् ।हेटौंडा र काठमाडौंबीच सडक सम्पर्क जोड्न बागमती प्रदेश सरकारले मन्त्रीको नेतृत्वमा सडक मर्मत गर्ने काम थालेको हो । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के सहितको टोली सडक सञ्चालनका लागि खटिएको बताइएको छ । जतिसक्दो छिटो सडक खुलाउने उद्देश्यले तीन स्थानबाट पहिरो पन्छाउने तथा सडक मर्मतको काम थालिएको मन्त्री मास्केले बताएका छन् ।‘काठमाडौं, हेटौंडा र हुमानेबाट सडक खुलाउने काम अघि बढाएका छौं’, मन्त्री मास्केले भने, ‘ती ठाउँमा अहिले मेसिन लगाएर काम भइरहेको छ, वर्षा रोकिए पनि ठाउँठाउँमा अझै पहिरो गइरहेकाले समस्या भएको छ ।’ हेटौंडा–काठमाडौं सडक सम्पर्क स्थापित गराउने कुरालाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए ।

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द रहेकाले तत्काल कुलेखानी–फाखेल–फर्पिङ सडक सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । मन्त्री मास्के पूर्वाधार विकास कार्यालय ललितपुरको समन्वयमा दुईवटा मेसिनसहित सडक खुलाउने काममा लागेका छन् ।‘अहिलेसम्म काठमाडौं तर्फको सडक तयार गर्दै फर्पिङ आइपुगेका छौं, अब हेटौंडासम्म सडक गाडी गुड्न सक्ने गरी तयार गर्नेछौं’, मन्त्री मास्केले भने । फर्पिङ–हुमाने खण्डमा ग्राभेल थुप्रिएको र त्यसलाई हटाएर सडक सञ्चालन गरी नागरिकको यात्रा सहज गर्न प्रदेश सरकारले निरन्तर प्रयत्नरत रहेको उनले बताए । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले बाढीबाट अवरुद्ध भएको सडक पुनः सञ्चालन गराउन मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा शीघ्र उद्दार टोली (क्यूआरटी) गठन गरेर काम गरिरहेको जनाएको छ ।

क्यूआरटीले हेटौंडा हुँदै भैंसेमा खसेको दुईवटा पहिरो पन्छाएर भीमफेदीसम्म पुगेको छ । भीमफेदीबाट कुलेखानीतर्फको सडकको पहिरो गत शनिबार नै प्रहरीले पन्छाएको र यो सडक खण्डमा खासै समस्या नरहेकाले कुलेखानीसम्म सडक खुलाउने मन्त्रालयको योजना रहेको निर्देशक पोखरेलेको भनाइ छ । कुलेखानीबाट हुमानेसम्मको खण्डमा भने केही पहिरो रहेकाले बुधबारसम्ममा सडक खुलाउने लक्ष्य रहेको उनले बताए ।फाखेलतर्फको बाटो खुलाउन हुमानेबाट कुलेखानी खण्डमा अर्को टोली परिचालन गरिएको छ । मन्त्रालयका इन्जिनियर दीपेन्द्र रैतालाई फिल्डमा खटाएर हुमानेबाट मकवानपुरतर्फ महालक्ष्मीखोलासम्म सडकको पहिरो पन्छाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । ‘दक्षिणकाली–फर्पिङ सडक खण्डअन्तर्गत महालक्ष्मीखोलादेखि कुलेखानी–नौबिसे–कलंकीसम्मको सडकमा खासै समस्या छैन’, निर्देशक पोखरेलले भने ‘तर, महालक्ष्मी खोलाको पुलको छेउमा करिब एक सय ५० मिटर सडक क्षतिग्रस्त भएकाले त्यसलाई मर्मत गर्न टोली परिचालन गरेका छौँ ।’

एकातिर पहिरो पन्छाउने र अर्कोतिर त्यही सडकमा पुनः सुख्खा पहिरो आउने क्रम जारी रहेकाले काम गर्न समस्या भइरहेको उनको भनाइ छ । ‘हामीले भैंसे–भीमफेदी सडकमा खसेको पहिरो पन्छाएर सडक सुचारु गर्ने तयारीमा थियौं’, निर्देशक पोखरेलले भने ‘तर, हिजो अचानक फेरि सोही सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पुनः ठूलो पहिरो जाँदा सडक सञ्चालन गर्न समस्या भयो ।’ उनका अनुसार मंगलबार रातोमाटोको पहिरो पन्छाउन टोली परिचालन गरिएको छ, पहिरो पन्छाएर यातायात सञ्चालन गराउन सकिन्छ कि भन्ने अनुमान गरिएको छ ।

बाढीपहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा पहिरो गएर ठूलो क्षति भएको र त्यहाँका पीडितलाई राहत पु¥याउन र सिस्नेरीमा अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन काठमाडौं–दक्षिणकाली–सिस्नेरी सडकमा पहिरो पन्छाउने काम भइरहेको निर्देशक पोखरेलले जानकारी दिए । ‘काठमाडौंदेखि दक्षिणकालीसम्म र दक्षिणकालीदेखि सिस्नेरीसम्म दुई टोली परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको छ’, निर्देशक पोखरेलले भने, ‘त्यो सडकअन्तर्गत रामचन्द्र भन्ज्याङमा ठूलो पहिरो खसेको र सडकमा पनि क्षति पुगेकाले केही समय लाग्ने अनुमान छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*