सिस्नेरीका बाढीपीडितलाई लायन्सको राहत

साझाकुरा
२०८१ आश्विन १६, बुधबार १६:३८

हेटौंडा-अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहतसामग्री लिएर लायन्स क्लबको टोली मकवानपुरको सिस्नेरीतर्फ गएको छ ।स्थानीय प्रशासनको आव्हानमा लायन्स क्लब इन्टरनेशनल र स्थानीय लायन्स टोलीको राहतसामग्री लिएर सिस्नेरीतर्फ गएको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालकी गभर्नर टासीडोल्मा तुम्बाहाङफेको नेतृत्वमा ६५ परिवारका लागि खाद्यान्नसहित म्याट र त्रिपाल लिएर टोली सिस्नेरी गएको क्लबले जनाएको छ । लायन्सले प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ थान त्रिपाल, तेल २ लिटर, साबुन २ थान, बिस्कुट २ प्याकेट, केराउ २ केजी, नुन १ केजी र सोयाविन १ केजी उपलब्ध गराउने जनाइएको छ ।

स्थानीय प्रशासनले बाढी–पहिरो प्रभावित क्षेत्रमा सहयोगको आवश्यकता रहेको जानकारी प्राप्त भएपछि लायन्स क्लबको अन्तर्राष्ट्रिय कोषबाट २ लाख रुपैयाँसहित स्थानीय क्लबबाट सहयोग संकलन गरी राहतसामग्री वितरणको लागि त्यसतर्फ गएको बताइएको छ । केहीदिन अघिको अविरल वर्षापछि गएको बाढी–पहिरो र डुबानका कारण इन्द्रसरोवरको सिस्नेरीसहित विभिन्न स्थानमा क्षतिपु¥याएको छ ।

वर्षाको कारण इन्द्रसरोवर तालमा पानी भरिएपछि ड्यामको ढोका खोल्दा निस्किएको पानी जाँदा इन्द्रसरोवर–३, सिस्नेरी बजारको प्रहरीचौकीसहित ३० घर बाढीले बगाएको थियो । बाढीलेइन्द्रसरोवरको खानीखोलास्थित २८ घर डुबानमा परेको थियो । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर स्थानीय बत्सलादेवी माविमा अध्ययनरत ६ जना विद्यार्थीको मृत्यु भएको थियो । एन्फा एकेडेमीमा फुटवल प्रशिक्षण लिने र बत्सलादेवी माविमा अध्ययन गर्ने ४० जना विद्यार्थीमध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*