सिस्नेरीबाट पाँच दिनदेखि अलपत्र दुई गर्भवतीको हेलिकप्टरबाट उद्दार

साझाकुरा
२०८१ आश्विन १७, बिहीबार १०:०२

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट विगत पाँच दिनदेखि अलपत्र अवस्थामा बस्न बाध्य दुईजना गर्भवतीको हेलिकप्टरबाट उद्दार गरिएको छ ।सिस्नेरी स्वास्थ्यचौकीमा प्रसुतिका लागि पाँच दिन अगाडि नै पुगेका इन्द्रसरोवर–३ दाप्राङ घर भएकी सुकिमाया वाइवा र इन्द्रसरोवर–३ सानुटार बस्ने सुशीला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।

सुत्केरी हुन स्वास्थ्यचौकी आएका दुईजना गर्भवती कुलेखानीखोलामा आएको बाढीका कारण थप उपचारका लागि काठमाडौं वा हेटौंडाको अस्पताल जान सकेका थिएनन् । बाढीले सिस्नेरीलगायतका थुप्रै स्थानमा सडक कटान गर्नुका साथै पहिरोले अवरुद्ध बनाएपछि उनीहरुलाई समयमै अस्पताल लैजान नसकिएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् ।बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको गाउँपालिका अध्यक्ष पुडासैनीले जानकारी दिए । ‘उहाँहरुमध्ये एकजना पाँच दिन अगाडि र अर्का एकजना ४ दिन अगाडि स्वास्थ्यचौकीमा आउनुभएको रहेछ । सुत्केरी हुने समय नाघिसकेको तर, सुत्केरी हुन नसकेपछि थप घट्ना नहोस भनेर तत्कालै हेलिकप्टरबाट उद्दार गरेका हौं,’ अध्यक्ष पुडासैनीले भने ।

उनले रक्षा मन्त्रालय मार्फत हेलिकप्टरबाट उद्दार गर्न तीन दिन अघिदेखि नै प्रयास गरिरहे पनि आज सफल भएको बताए । ‘पहिला रक्षा मन्त्रालयमार्फत् उद्दारक प्रयास गरेका थियौं । गाउँपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा लिखित अनुरोधगरेपछि सेनाको हेलिकप्टरबाट उद्दार भएको छ,’ उनले भने । वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका जोड्ने सबै सडकमार्ग अवरुद्धरहेको छ ।वर्षाले कुलेखानी जलविद्युत केन्द्र भरिएपछि गत शनिबार बिहान जलाशयको दुईवटा ढोका खोलेर पानी छोड्दा कुलेखानी खोलामा आएको बाढीले सिस्नेरी सडक सञ्जालको सम्पर्कबाट टुटेको छ । सडक नै खोलाले बगाएपछि गर्भवतीलाई थप उपचारका लागि सडक सञ्जालबाट अस्पताल लान सकिएको थिएन ।

इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा फुटबल सिक्दै आएका ६ जना बालकको शनिबार बिहान पहिरोमा पुरिएर मृत्यु भएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका छ बालकको शवसहित त्यहाँ अध्ययनरत ३४ जना विद्यार्थीलाई शनिबार साँझ सेनाको हेलिकप्टरबाट उद्दार गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*