एलिसा हत्याका आरोपित खान थुनामा

साझाकुरा
२०८१ आश्विन १७, बिहीबार १०:०६

हेटौंडा-मकवानपुर जिल्ला अदालतले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्याका आरोपित एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।अदालतले हत्या आरोपित युवकलाई भगाउन भूमिका खेलेको अभियोग लागेका तीन जनालाई जनही ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा छाड्न आदेश गरेको छ । जिल्ला न्यायधीश अवनी मैनाली भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । हेटौंडा उपमहानगरपालिका—११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको होटेलको कोठामा हत्या गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पठानलाई प्रहरीले पक्राउ गरेको थियो ।

९ भदौ अपरान्ह ४ बजेतिर समिर खानसहित न्यौपाने होटेलमा कोठा लिएर बसेका थिए । समिर बेलुका ८ बजे नै कोठाको ढोकाको भित्रबाट चुकुल लगाएर झ्यालबाट हामफालेर भागेका थिए । खानले युवतीलाई २ वटा बियरको बोतलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेर भागेको प्रहरीले जनाएको छ । भोलिपल्ट बिहान होटेलको कोठा नखोलेपछि होटेलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृतअवस्थामा भेटिएकी थिइन् ।

हत्यापछि भारत भागेका खानलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । मृतक एलिसा र आरोपित खाना श्रीमान–श्रीमतीका रुपमा बस्दै आएका थिए । खानको भने एलिसासँग सम्बन्ध हुनु अगावै विवाह भइसकेको थियो । वैदेशिक रोजगारीका लागि दुबई पुगेकी एलिसालाई खानले नै नेपाल आउन दबाब दिएको मृतकको परिवारले बताएका छन् । वैदेशिक रोजगारीबाट फर्किएर काठमाडौंमा बस्दै आएकी एलिसा हेटौंडा आएकै दिन होटलमा हत्या भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*