मदन भण्डारी प्रतिष्ठान ऐन संशोधन गर्ने प्रदेश सरकारको निर्णय

साझाकुरा
२०८१ आश्विन १७, बिहीबार १०:१०

हेटौंडा- बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनसम्बन्धी ऐन संशोधनको तयारी गरेको छ । बुधवार बिहान हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०७६ को चारवटा बुँदा संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए । ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हालसम्म सामाजिक विकास मन्त्रालय मातहत रहेको छ । अब कानुन संशोधन गरी स्वास्थ्य मन्त्रालयलाई अधिकार हस्तान्तरण गर्न लागिएको हो,’ उनले भने ।

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा पाल्पाका डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । बुधबार बिहान हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । उपकुलपतिका लागि डा. सुरज मानन्धर र डा. हरिबहादुर खड्काको नाम पनि सिफारिस भएको थियो ।प्रदेशमा रिक्त रहेको कर्मचारी दरबन्दीमध्ये ५ जना सचिव संघीय सरकारबाट प्रदेशमा हाजिर भएको र उनीहरुको जिम्मेवारी तोक्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

प्रदेशमा हाल वन तथा वातावरण, जलस्रोत तथा सिँचाइ, पर्यटन मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग र मुख्यमन्त्री कार्यालयमा प्रशासनतर्फ सचिव पद रिक्त रहेका छन् । बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ११ औं तहका चारजना कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको मन्त्री लामिछानेले जानकारी दिए ।

बैठकले युवा तथा खेलकुद मन्त्रालयले संविधान दिवसको दिनमा अन्तर्राष्ट्रिय खेलमा पदक जित्न सफल खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई उपलब्ध गराउने घोषणा गरेको पुरस्कार रकम निकासा गर्ने निर्णय गरेको उनले जानकारी दिए । मन्त्री लामिछानेका अनुसार तत्काल पुरस्कारबापतको रकम उपलब्ध गराउन प्रदेश खेलकुद विकास परिषद्लाई २३ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*