अमलेखगंज–हेटौंडा–लोथर पेट्रोलियम पाइपलाइन सम्झौता

साझाकुरा
२०८१ आश्विन १८, शुक्रबार १०:४९

हेटौंडा-बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म ६२ किमि पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा सम्झौता भएको छ । मकवानपुरको चुरेदेखि लोथरसम्म ५० किमि राजमार्ग क्षेत्रमा पाइपलाइन निर्माण हुन लागेको हो ।भारत सरकारको अनुदानमा २ वटा पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको हो । बिहीबार भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्ज देखि चितवनको लोथरसम्म दुईवटा पाइपलाइन निर्माण गर्ने विषयमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थल कुमारबीच भारतको नयाँदिल्लीमा सम्झौता भएको हो ।

नेपाल आयल निगमले बिजिनेस टु बिजिनेस (बीटुबी) मोडलमा दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्ने गरी गतवर्ष भदौदेखि तयारी सुरु गरेको थियो । निगमले गतवर्ष मंसिरभित्र थप दुई पाइपलाइन निर्माण गर्ने विषयमा सम्झौता गर्ने गरी गृहकार्य आगाडि बढाएपनि बिहीबारमात्रै भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा सम्झौता भएको नेपाल आयल निगमले जनाएको छ ।सम्झौताअनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ । अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ ।यो दुबै पाइप लाइन आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको निगमले जनाएको छ । २०८० जेठमा तत्कालीन प्रधामन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भएको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग २ वटा पाइपलाइन निर्माण गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको थियो । यसअघि केपी ओली दुइतिहाई बहुमतको प्रधानमन्त्री भएको समयमा अमलेखगंज–हेटौंडा–लोथर पेट्रोलियम पाइपलाइन निर्माणको सर्भे कार्य हुँदैछ भन्ने सन्देश दिन पूर्वपश्चिम राजमार्गको हरेक ५ किमि क्षेत्रमा होडिङ बोर्ड लगाइएको थियो ।

पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा नेपाल–भारतबीच संझौता नहुँदै राजमार्गमा होडिङ बोर्ड लगाएर जनताको आँखामा छारो हाल्न मात्र खोजेको भन्दै नागरिक समाजले यसको बिरोध गरेको थियो । गतवर्ष तत्कालीन प्रम प्रचण्ड भारत भ्रमणका क्रममा दुई देशका प्रमबीच पाइपलाइन निर्माणको विषयमा सम्झौता भएको एक वर्षपछि दुई देशको आयल निगमबीच संझौता भएको हो । अब भारतीय प्राबिधिक टोलीले डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार गरेपछि बल्ल निर्माणको काम अगाडि बढ्ने छ ।मोतिहारी–अमलेखगंज ६९ किमि पाइपलाइन परियोजना सफल भएपछि नेपाल आयल निगमले अमलेखगंज–हेटौंडा–लोथर पाइपलाइन बिस्तार गर्न प्रस्ताव गरेको थियो ।

भारतीय आयल निगमले बाराको अमलेखगंजस्थित डिपोमा ४१०० किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याक’, २५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको थियो ।पेट्रोल र डिजेल दुबैमा हुनसक्ने मिसावट, ढुवानी अबरोध आदि कारणले पाइपलाइन उपयुक्त हुने बताइएको छ । एउटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भएपनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्यांकरबाटै पेट्रोलियमपदार्थ ल्याउनुपर्ने निगमको बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियमपदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*