पालुङको दशैंघर भत्किएपछि वडा कार्यालयमै राखियो जमरा

साझाकुरा
२०८१ आश्विन १८, शुक्रबार ११:०२

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाको ऐतिहासिक पालुङ सहरको दशैघर भत्किएपछि स्थानीयले वडा कार्यालयमै जमरा राखेका छन् । उनीहरुले १७ असोजको शुभसाइतमा थाहा नगरपालिका वडा नम्बर २ को कार्यालयमा जमरा राखेका हुन् ।वि.सं. २०७२ सालको भुकम्पले भत्किएको दशैघर जीर्णोद्वार हुन नसक्दा भत्किएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समिति पालुङका अध्यक्ष श्यमभक्त श्रेष्ठले जानकारी दिए ।

‘दशैघर पुनर्निर्माणका लागि वडा, नगरपालिका, प्रदेश सरकार धेरैलाई गुहा¥यौं, कतैबाट सहयोग भएन अन्नतः जमरा समेत राख्न सक्ने अवस्था भएन’–अध्यक्ष श्रेष्ठले भने–‘संस्कृति जोगाउनका लागि वडासँगको समन्वयमा कार्यालयमै जमरा राख्यौं ।’ स्थानीय संस्कृति र सम्पदा संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीय निरोज प्रधानले बताए । पालुङमै बागमती प्रदेश सरकारले पुनर्निर्माण गरेको फल्चामा पनि छानाको अभावमा प्लाष्टिक लगाइएको छ ।पालुङमा राज्यको संरचना हुँदा दशैंघरमा जमरा राख्ने, फूलपाती भित्राउने लगायतको कार्य गर्ने प्रचलन रहेको थियो ।

पालुङको दशैंघरमा अहिले पनि फूलपाती भित्राउनका लागि स्थानीय सरकारप्रमुखहरु पुग्ने परम्परा अझै छ भने दशैको टीकाको दिन सरकारप्रमुखले अन्य स्थानीयलाई टीका र जमरा लगाउने चलन छ ।यसपालि पनि दशैंघर परिसरमा २४ गते फूलपाती भित्राउने, २५गते नवमी पूजा गर्ने र २६ गते टीका लगाउने तालिका प्रकाशन गरिसकिएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका सचिव मधुकरविक्रम श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*