संकटमा देशको भारी बोक्दै बुढो सडक ‘त्रिभुवन राजपथ’

साझाकुरा
२०८१ आश्विन १९, शनिबार १३:०७

हेटौंडा-‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि’ भन्ने नेपाली उखान त्रिभुवन राजपथमा पनि चरितार्थ भएको छ । मुलुकमा ठूलो बाढीपहिरोको संकटको समयमा मुलुकको राजधानीलाई देशका बिभिन्न भागसँग जोड्ने भरपर्दो बिकल्प बन्ने गरेको छ त्रिभुवन राजपथ । विपद्मा काठमाडौंसँग जोडिएका सबै राजमार्ग ठप्प हुँदा देशकै बुढो मानिएको त्रिभुवन राजपथले संधै काम दिँदै आएको छ । पृथ्वी राजमार्ग ठप्प हुँदा नेपालको तराईबाट काठमाडौं प्रवेश गर्ने एउटै विकल्पको सडक त्रिभुवन राजपथ हो । विपद्बाट उत्पन्न संकटले अहिलेमात्र होइन्, २०५० सालदेखि काठमाडौंको ‘लाइफलाइन’को काम गरिरहेको बताउँछन् थाहा नगरपालिकाको पूर्वनगरप्रमुख लवशेर विष्ट । २०५०, २०५९ र २०६१ को विपद्मा देशभरका सवारीसाधनको काठमाडौं आवतजावत गर्ने एकमात्र विकल्पको सडक त्रिभुवन राजपथ बनेको बिष्ट बताउँछन् ।

२०५९ मा हेटौंडाको राप्तीपुल, चितवन र मकवानपुरको सीमानास्थित लोथरमा भिषण बाढीले सडक बन्द हुँदा त्रिभुवन राजपथले लामो समयसम्म काम दिएको बिष्टले सम्झिए । त्रिभुवन राजपथ काठमाडौंसँग जोड्ने पुरानो सबैभन्दा बलियो र सुरक्षित सडक हुँदा पनि सरकारले बेवास्था गरेको विष्टको गुनासो छ । सडकहरुमा ‘पासिङ वे’, कल्भर्ट, पहिरो जोखिम क्षेत्रमा पर्खाललगायत संरचना, नाला निर्माण गर्नुपर्नेमा सरकारले ध्यान नदिएको उनले बताए ।

थाहा नगरपालिकाले विगतमा संघीय सरकारलाई यो सडकको पुनःनिर्माणका लागि लिखित अनुरोध गर्दापनि कुनै चासो नदिएको पूर्वनगरप्रमुख विष्ट बताउँछन् । १० असोजदेखि १४ गतेसम्म परेको भिषण वर्षाले देशका प्रमुख राजमार्गहरु क्षतविक्षत बनाउँदा काठमाडौंसँगको सम्पर्क टुट्न पुग्यो । संघीय राजधानी काठमाडौंलाई नेपालको तराईसँग जोड्ने प्रमुख सडक बिपी राजमार्ग र मध्य तथा पश्चिम नेपाललाई जोड्ने पूर्वपश्चिम लोकमार्ग हुँदै मुग्लिन–नागढुंगा खण्डको पृथ्वी राजमार्ग बाढीपहिरोले क्षतिग्रस्त बनायो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार १२ किमि सडक बगेको बिपी राजमार्ग दशैं अगाडि खुल्ने स्थितिमा छैन ।

बाढीपहिरोले पूर्व–पश्चिम लोकमार्ग (महेन्द्र राजमार्ग)लाई ठूलो क्षति नपु¥याए पनि काठमाडौंको दुई ‘लाइफलाइन’ बिपी र पृथ्वी राजमार्ग पूर्णरुपमा सञ्चालनमा आउन नसकेका हुन् । पृथ्वी राजमार्ग अन्तर्गत त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुंगा सडकको झ्याप्लेखोला, धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदीमा पहिरो खसेको थियो । दैनिक १० हजारभन्दा बढी सवारीसाधनको चाप व्यहोर्ने पृथ्वी राजमार्गको पहिरो पन्छाएर सडक सुचारु गरिए पनि पूर्ण सञ्चालनमा आउन समय लाग्ने भएको छ । पृथ्वी राजमार्गको अत्यधिक सवारी चापले पूर्वपश्चिम लोकमार्गभएर नारायणगढसम्म आइपुग्ने पश्चिमी नेपालका सवारीले यतिबेला दुईवटा विकल्पमा यात्रा गरिरहेका छन् ।

एउटा पृथ्वी राजमार्ग भएर, अर्को हेटौंडा हुँदै त्रिभुवन राजपथ भएर धादिङको नौबिसे निस्किँदै काठमाडौं प्रवेश गरिरहेका छन् । हेटौंडा–पालुङ–नौबिसे सडक खण्डको त्रिभुवन राजपथमा अत्यधिक सवारी चाप छ । पूर्वी नेपाललाई जोड्ने बिपी राजमार्ग र मध्यतराई तथा पश्चिम नेपाललाई जोड्ने पूर्वपश्चिम लोकमार्गको भारी देशकै बुढो त्रिभुवन राजपथले बोकिरहेको हो । वर्षाले त्रिभुवन राजपथमा खसेका साना पहिरो पन्छाएर यस सडक सञ्चालनमा ल्याइएको थियो । त्रिभुवन राजपथ भारत सरकारको सहयोगमा बि.सं. २००९ मंसिर ७ गते शनिवार राजमार्ग निर्माणको शुभारम्भ गरिएको थियो ।

नेपालको सबैभन्दा पुरानो यो राजमार्ग बढी घुम्ती भएकोले पारवहनको दृष्टिकोणले सहज नमानिएपछि सरकारले अन्य सडक निर्माण गरेको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गमा गुड्ने सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौं आवतजावत गरिरहेको जानकारी दिए । ‘बिपी राजमार्ग ठप्पै छ । पृथ्वी राजमार्ग पनि पूर्णरुपमा सञ्चालनमा नआएकाले नारायणगढसम्म आइपुगेका सवारीसाधन प िन यतैबाट चलिरहेका छन्’ उनले भने ।

काठमाडौं प्रवेश गर्ने अधिकांश यात्रुबाहक साना सवारी त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेको प्रजिअ चिलुवालले जानकारी दिए । ‘ठूला गाडी सञ्चालनमा अहिले रोकेका छौं । साना गाडीकै चाप धेरै छ’ उनले भने । मकवानपुर प्रशासनले धादिङ प्रशासनसँगको समन्वयमा त्रिभुवन राजपथ पूर्णसञ्चालनमा ल्याएको हो । मकवानपुरका प्रहरी प्रमुख प्रहरीउपरीक्षक विश्वराज खड्काले त्रिभुवन राजपथमा ट्राफिक व्यवस्थापनका लागि थप ३० जना प्रहरीलाई परिचालन गरिएको जानकारी दिए । ‘जहाँजहाँ पहिरो खसेको र साँघुरो छ त्यहाँ राख्ने गरी ३० जना प्रहरी थप परिचालन गरेका छौं, अत्यधिक सवारीचाप भएकाले ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने प्रयास गरेका हौं’ एसपी खड्काले साझाकुरासँग भने ।

मोटरसाइकल भने त्रिभुवन राजपथबाट नभई भैंसे–कुलेखानी हुँदै चन्द्रागिरी–थानकोट (गणेशमान सिंह मार्ग) बाट पठाइएको मकवानपुर प्रशासनले जानकारी दिएको छ । भैंसे–कुलेखानी हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत्को सडक हो । बाढीपहिरोका कारण छोटो मार्गको कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–फर्पिङ दुईवटा सडक बन्द छ । फाखेल–फर्पिङ सडक दुई दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । बागमती प्रदेश सरकारले कुलेखानी जलाशय तलको पक्कीपुलमा क्षति पुगेपछि तत्काललाई डाइभर्सन निर्माण गरिरहेको छ । फाखेलको महालक्ष्मी खोलाको अवरोध हटाएपछि फाखेल–फर्पिङ सडक सञ्चालन हुनेछ । यो सडक चलेपछि त्रिभुवन राजपथको चाप घटाउन दुईतिरबाट सवारी सञ्चालन गरिने उनले जनाए ।

यातायात व्यवस्था विभागले नारायणगढदेखि काठमाडौं जोड्ने सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएसँगै त्रिभुवन राजपथको चाप बढ्न सक्ने देखिएको छ । यातायात व्यवस्था विभागले सूचना निकाल्दै ‘ट्रेलरलगायतका ठूला सवारी २०८१ असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म सञ्चालन गर्न रोक लगाउने’ उल्लेख गरेको छ । खाद्यान्नसहितका अत्यावश्यक सामान बोकेका सवारी भने चल्न दिइने विभागले जनाएको छ । २६ मंसिर २०१० मा जीप मात्र चलाउन सकिने गरी तत्कालीन बडामहारानी कान्तीराज्यलक्ष्मीले राजमार्गको उद्घाटन गरेको त्रिभुवन राजपथबाट नियमित रुपमा ठूला सवारीको सञ्चालन चैत २०१५ बाट सुरु भएको थियो ।

त्रिभुवन राजपथसँगै बनेको कान्तिलोकपथ पनि बिकल्पको रुपमा प्रयोगमा आएको छ । ललितपुरको सातदोबाटोबाट हेटौंडासम्म जोडिने ९२ किलोमिटरको कान्तिलोकपथ वि.सं. २०१६ मा राजा महेन्द्रले आफैंले जीप हाँकेर उद्घाटन गरेका थिए । यो सडक पनि नेपाली सेनाले बनाएको हो । कान्तिलोकपथ अझै पूर्ण रुपमा सम्पन्न भइसकेको छैन । यो सडकमा अत्यधिक पहिरोको जोखिम छ । बाढीले यो सडक पनि हाल पूर्णरुपमा ठप्प छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*