सिस्नेरी पहिरोमा मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी परिवारलाई राहत

साझाकुरा
२०८१ आश्विन १९, शनिबार १३:१४

हेटौंडा- असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मकवानपुरको सिस्नेरी गाउँपालिका–३ को पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ एकेडेमीका दुई खेलाडीका परिवारलाई प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलवालको टोलीले घरमै पुगेर बिहीबार राहत उपलब्ध गराएका छन् ।सरकारको तर्फबाट प्रजिअ चिलुवालले प्रतिमृतक परिवारलाई २÷२ लाख रुपैयाँ चेक हस्तान्तरण गरेका थिए । हेटौंडा उपमहानगरपालिका–१२ का मृतक अनुपम घलानका बाबु ललित घलानलाई २ लाख रुपैयाँ प्रजिअ चिलुवालले हस्तारन्तरण गरेका थिए । घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख हुन् । यसैगरी मकवानपुरगढी–४ का मृतक साइमन योञ्जनका बाबु हेमबहादुर योञ्जनलाई प्रजिअ चिलुवाल २ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । राहत रकम हस्तान्तरण गर्न मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु पुगेका थिए ।

मकवानपुरको सिस्नेरी टेकरका दिवस बानियाँको परिवारलाई सिस्नेरीस्थित घरमा नै गएर राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलवाल बताए । हेटौंडाबाट सिस्नेरी पुग्न कुलेखानी ड्याम नजिकबाट झन्डै तीन घन्टा पैदल हिँड्नुपर्छ । सिस्नेरीको पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको मृत्यु भएको थियो । मृत्यु हुनेमा मकवानपुरका तीनजना बाहेक सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका बिकल रेग्मी थिए । इन्द्रसरोवर गाउँपालिका–३, बत्सलादेवी माविमा एन्फाले राखेको यू–१४ क्याम्पका ४० खेलाडीमध्ये ६ जना पहिरोमा परेर ज्यान गुमाएका थिए ।अविरल वर्षासँगै करिब ३१ वर्षपछि कुलेखानी जलविद्युत् आयोजनाको बाँध भरिएपछि बाँधको ढोका खोल्दा सिस्नेरी खोलाको जलसतह बढेको थियो । खोलाको सतह बढेसँगै खेलाडीलाई सुरक्षित स्थानतर्फ सार्नेक्रममा पहिरोमा परेको एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले बताए । एन्फाले गत वैशाखबाट सिस्नेरीको टेकरमा आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*