सिस्नेरीमा ६ बालक मृत्युको घटनामा छानबीन गर्न सरकारलाई निर्देशन

साझाकुरा
२०८१ आश्विन २०, आईतवार १३:०३

हेटौंडा-मकवानपुरको उत्तरीक्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा रहेको बत्सलादेवी माविस्थित एन्फा एकेडेमीका ६ बालकको मृत्युको घटनामा छानबीन गर्न सरकारलाई निर्देशन दिइएको छ ।विद्यालय परिसरमा विगत एक वर्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको एकेडेमीका ६ जना बालकको गत शनिबार पहिरोमा परी निधन भएको थियो । मकवानपुरका अनुपम घलान, दिवस बानियाँ र सुमन योञ्जन, काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मीले ज्यान गुमाएका थिए । घटनाबारे छानबीन गर्न प्रतिनिधिसभाको संसदीय समितिले सरकारलाई सिफारिस गरेको छ ।

घटनामा एन्फा नेतृत्व र विद्यालय व्यवस्थापन समितिको लापरबाही र गैरजिम्मेवारीपन देखिएपछि समितिले छानबीनको सिफारिस गरेको उल्लेख गरिएको छ । पूर्वाधार विकास समितिको बैठकमा समिति सभापति दीपकबहादुर सिंह, माओवादीका सांसद माधव सापकोटालगायत सांसदले ६ बालकको मृत्यु भएको घटनालाई लिएर गम्भीर सरोकार राखेका थिए ।पूर्वाधार विकास समितिको शुक्रवारको बैठकले छानबीन समिति बनाउने निर्णय गरेको सभापति सिंहले जानकारी दिए । ‘६ युवा खेलाडीको मृत्यु भएको छ । त्यसदिन के कस्तो भएको हो ? कुलेखानीलगायत त्यसआसपास भएका क्षति र त्यसको कारण के हो ? त्यसका विषयमा छानबीन समिति बनाउने निर्णय भएको छ । दशैंपछि समितिलाई पूर्णता दिनेछौं’ उनले भने ।

अनाहकमा ६ जना होनाहार बालकको ज्यान गएको भन्दै यो विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेकोमा उनीहरुले जोड दिए । समितिले सरकारलाई निर्देशन दिएको हो । एन्फाले १४ वर्षमुनिका ४० जना विद्यार्थीलाई पढाउने र फुटबल प्रशिक्षण दिने गरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वत्सलादेवी माविमा राखेको थियो ।अघिल्लो बिहीबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण कुलेखानीको ड्यामका दुई ढोका खोलिएपछि विद्यालयबाट सुरक्षित स्थानतर्फ जाने क्रममा विद्यार्थी सिस्नेरीको पहिरोमा परेका थिए । मृत्यु भएकाहरुका परिवारजनले एन्फा र विद्यालय व्यवस्थापनमाथि प्रश्न उठाएका छन् । विद्यालयले प्रहरीसँग कुनै समन्वय नगरिकन बालकलाई असुरक्षित बाटोबाट भगाएकोमा उनीहरु क्रुद्ध भएका हुन् ।

सांसद सापकोटाले काठमाडौंमै राम्रो होस्टेलसहितका विद्यालय हुँदाहुँदै त्यस्तो असुरक्षित ठाउँमा लगेर राखिनु सन्देहपूर्ण देखिएको बताए । खेलाडी घाइते भएको खण्डमा तत्काल उपचार गराउन नजिकै अस्पतालसमेत नभएको उनले बताए । उनले यसलाई एउटा प्राकृतिक विपत्तिमात्र भनेर पन्छाउन नमिल्ने भन्दै गहिरो अनुसन्धान हुनुपर्ने बताए । एन्फाका पूर्वअध्यक्ष गणेश थापाले बालकलाई सिस्नेरी पु¥याइनुमा एन्फा एकेडेमीको गलत नियत भएको आरोप लगाएका छन् ।

एन्फा नेतृत्वले अहिलेसम्म यो घटनालाई लिएर न आफ्नो तर्फबाट सामान्य छानबीनसम्म गरेको छैन न त घटनाप्रति कुनै जवाफदेहिता नै प्रस्तुत गरेको छ । त्यसैले पनि मृतक बालकका आफन्तजन एन्फाप्रति क्रुद्ध भएका हुन् । एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले भने घटना हुनुमा नेपाल विद्युत प्राधिकरणको दोष देखाएका छन् । उनले मिडियामा भनेका छन्, ‘सामाजिक सञ्जालमा सूचना जारी गरेको भरमा कुलेखानी ड्यामका दुवै ढोका खोलेर पानी छोडिदिएपछि भाग्नुको विकल्प नै भएन ।’

यसमा तपाइको मत

Your email address will not be published.


*