आशिंक रुपमा खुल्यो फाखेल, सिस्नेरी, चितलाङ–मातातीर्थ सडक

साझाकुरा
२०८१ आश्विन २१, सोमबार ०९:३६

हेटौंडा- बागमती प्रदेश सरकारले ९ दिनसम्म निरन्तर काम गर्दै हेटौंडा–काठमाडौं जोड्ने तीन वटा छोटो मार्ग सञ्चालनमा ल्याएको छ ।छोटो दुरीको हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौं र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीनवटा सडक खण्ड सञ्चालनमा ल्याइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जानकारी दिए । १०–१२ असोजको वर्षाका कारण र कुलेखानी जलविद्युत केन्द्रले पानी छोड्दा छोटो मार्ग अवरुद्ध हुन पुगेका थिए ।

‘९ दिनदेखि सडकहरु अवरुद्ध थिए । हामीले निरन्तर काम गरेर आइतबारबाट तीनवटा मार्गलाई खुलाएका छौं’ मन्त्री मास्केले भने । दक्षिणकालीदेखि सिस्नेरीसम्म सानाठूला गरी ६० वटा र सिस्नेरीदेखि भैंसेसम्म ४० वटा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सफल भएको मन्त्री मास्केले बताए । ‘दशैंलाई लक्षित गरेर हामीले हतारहतार अस्थायीरुपमा सडक खुलाएका हौं, अब दीर्घकालीन तरिकाले योजना बनाएर काम गर्छौ’ उनले भने ।

तीनवटा सडकमा ५ वटा डाइभर्सन बनाइएको उनले बताए । कुलेखानी–सिस्नेरी खण्डको ज्यामिरेमा, कुलेखानी–फाखेल खण्डको महालक्ष्मी खोलामा, कुलेखानी ड्याम क्षेत्रमा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको हो । महालक्ष्मी खोलामा ७० मिटर सडकमा क्षति पुगेको उनले जानकारी दिए । सवारी चाप अत्यधिक हुने भएकाले सिस्नेरी र फाखेल सडकलाई ‘वान वे’ बनाउने विषयमा छलफल भइरहेको उनको भनाई छ ।

सवारी अड्किएको अवस्थामा कुलेखानी र महालक्ष्मी खोलामा जेसिबी तयारी अवस्थामा राखिएको मन्त्री मास्केले बताए । सशस्त्र प्रहरीलाई सुरक्षाको व्यवस्था मिलाउन निर्देशन दिइएको उनको भनाई छ । ९ दिनसम्म एक्साभेटर, जेसिभी र टिपर लगाएर काम गरिएको भौतिक मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए । सवारीको भाडा र ईन्धन खर्च मात्रै मन्त्रालयले ब्यहोर्ने गरी काम गरिएको उनले बताए ।

प्रदेश सरकारको प्रादेशिक सडक गुरुयोजना अन्तर्गत प्रदेशमार्गको रुपमा रहेका सिस्नेरी, फाखेल, मातातीर्थ सडकहरु पहिरोले बन्द भएको ७ दिन पछि आंशिकरुपमा खुलेको हो । गत असोज १२ को वर्षाका कारण कुलेखानीमा सिमखोला पुलको पहुँच सडक बगाएको थियो भने फाखेलतर्फको महालक्ष्मी खोलाको पुल र आसपासका ७०० मिटर सडक बगाएको थियो । कुलोनी सिमखोला पुलमा करिब १०० मिटर र महालक्ष्मी खोला वारीपारी गरेर करिब ७०० मिटर सडक बगाएको ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।

महालक्ष्मी खोलालाई साबिक धारमा फर्काउने काम गरेर अस्थायी रुपमा सडक संचालनमा ल्याएको बताइएको छ । पुलको माथिल्लो भागमा १५० मिटर उकालो सडक बगाएको थियो । खोलाबाट ग्राभेल तानेर सडकको ट्रयाक बनाइएको छ । पुलको पारीतर्फको करिब ५०० मिटर सडकमा बगिरहेको महालक्ष्मी खोलालाई पुरानै अवस्थामा फर्काउने काम गरिएको छ । ट्रयाकसमेत नभएको महालक्ष्मी खोलाको सडकमा अस्थायी ट्रयाक निर्माण गरी तत्कालका लागि बाटो सञ्चालनमा ल्याइएको हो ।

सिस्नेरीतर्फ ज्यामिरेदेखि सडकको ट्रयाक सिस्नेरी खोलाले बगाएको थियो । निर्देशनालयले खोलाको बगरमा नै अस्थायी ट्रयाक निर्माण गरेको छ । ३ किलोमिटर दुरीमा रहेको सिस्नेरी बजारसम्म खोलाको बगरबाट नयाँ ट्रयाक बनाइएको छ । सिस्नेरीको टेकर बजार प्रवेश नगराई बगरबाटै सवारी साधन सिस्नेरी पुग्ने गरी नयाँ ट्रयाक बनाइएको ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष पुडासैनीले जानकारी दिएका छन् । यो सडक खण्डमा अस्थायी ट्रयाक निर्माण गरेर तत्कालका लागि यातायात संचालनमा ल्याएपनि सामान्य वर्षाको बाढीले पनि क्षति पु¥याउन सक्ने जोखिम भने कायमै रहेको बताइएको छ ।

सिमखोलामा निर्माण गरिएको डाइभर्सनले कुलेखानी ड्याम मुनीको पुललाई बाइपास गरेर हेवी जोड्ने काम गरेको छ । सिस्नेरीबाट काठमाडौंतर्फको खण्डमा रहेका ४० वटा पहिरो पन्छाएर निर्देशनालयले यो सडक खण्डमा यातायात सञ्चालनमा ल्याउने प्रयास गरेको हो । दक्षिणकालीमा २०० मिटर लम्बाइको सडकको ट्रयाक बगाएको थियो । यो स्थानमा सडक खुलाउन व्यक्तिगत जग्गाबाट अस्थायी सडकका लागि डाइभर्सन बनाइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना, पूर्वाधार विकास कार्यालय मकवानपुर र ललितपुर एकसाथ खटिएर निरन्तर काम गरिएको सचिव श्रेष्ठ बताउँछन् । कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने पहिल्यै सञ्चालनमा ल्याइएको हो ।हेटौंडा–भैंसे–भीमफेदी २३ किमि सडक र भीमफेदी–कुलेखानी ड्याम १६ किलोमिटर सडक खण्डमा भने अर्को बिकल्प छैन ।

कुलेखानी ड्याम (सिमखोला) पुगेपछि सिस्नेरी भएर फर्पिङ वा फाखेल भएर फर्पिङ वा चितलाङ भएर काठमाडौंको मातातीर्थ पुग्न सकिन्छ । कुलेखानीबाट तीनवटा बिकल्प प्रयोग गर्न सकिन्छ । कान्तिलोकपथ सडक खण्ड भने सञ्चालनमा आइसकेको छैन । भीमफेदी र ललितपुर जोड्ने बागमती पुल बगाएकाले कान्तीलोकपथ सडक अवरुद्ध छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*