हेटौंडाका रिजन १० लाखमा चितवनमा आवद्ध

साझाकुरा
२०८१ आश्विन २१, सोमबार ०९:४३

हेटौंडा- हेटौंडाका रिजन ढकाललाई नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा चितवन राइनोजले १० लाख रुपैयाँमा अनुबन्धन गरेको छ ।आइतबार भएको अक्सनमा पहिलो खेलाडीको रुपमा बायाँहाते तीब्रगतिका बलर ढकाल आएका थिए । ढकालले गत फेब्रुअरीमा क्यानडाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । उनले ए ग्रेडको न्यूनतम मूल्य १० लाख रुपैयाँ पाएका हुन् । नेपालका लागि पहिलोपटक बन्द प्रशिक्षणमा पर्दै क्यानडासँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालका लागि डेब्यू गरेका क्रिकेटर रिजन ढकाल निकै भाग्यशाली भए । उनले डेब्यु खेलमै विकेट पनि लिएका थिए ।

हेटौंडाको हुप्रचौरमा क्रिकेट सिकेका उनले अब चितवन राइनोजबाट एनपीएल खेल्नेछन् । प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट राम्रो बलिङ गरेका बायाँहाते बलर रिजन त्यही प्रदर्शनका आधारमा राष्ट्रिय टिममा पर्न सफल भएका थिए । त्यसअघि उनी कहिल्यै बन्द प्रशिक्षणमा परेका थिएनन् । रिजन सीधै राष्ट्रिय टोलीमा परेका थिए । गतवर्षको प्रधानमन्त्री कपमा ९ खेलमा १५ विकेट लिएका रिजन सिनियर टोलीका पहिलो रोजाइका बलर सोमपाल कामी (१९) पछि सर्वाधिक विकेट लिने तीव्रगतिका बलरमा परे । सन् २०२१ को एभरेष्ट प्रिमियर लिग (ईपीएल) रिजनले ललितपुर प्याट्रियट्सबाट खेलेका थिए ।

सन् २०१४ मा यु–१६ को राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा मकवानपुरले पाएको एउटा कोटामा रिजन छानिए । प्रशिक्षणमा राम्रो गरेपछि प्रशिक्षक वसन्त शाहीले उनलाई नेपालको यू–१६ टोलीमा राखे । थाइल्यान्डमा नेपालले एसीसी यू–१६ को उपाधि जित्दा उनले दुई खेल खेल्ने अवसर पाएका थिए । बहराइन र फाइनलमा मलेसियाविरुद्ध १–१ विकेट लिए । नेपालको यू–१९ टोलीमा पर्न रिजनले धेरै संघर्ष र प्रतीक्षा गरे । यू–१९ विश्वकपपछि धेरै खेलाडीले टोली छाडे र उनी सन् २०१६ मा मकवानपुरको कोटाबाट टोलीमा स्थान बनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*