पदमपोखरीले जित्यो जिल्ला लिगको उपाधि

साझाकुरा
२०८१ आश्विन २१, सोमबार ०९:५४

हेटौंडा- मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको पाँचौ संस्करण उपाधि पदमपोखरी युवा क्लवले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलवमा सहिदस्मृति क्लवलाई ३–१ ले हराउँदै पदमपोखरीले उपाधिमा आफ्नो नाम लेखाएको हो ।३५ दिन सञ्चालन भएको लिगको ९१ खेलपश्चात् प्रतियोगिता विजेता टोलीको टुंगो लागेको हो । योसँगै जिल्ला लिगको एउटा चक्र मकवानपुरमा पूरा भएको छ । अब मकवानपुरमा ए, बी र सी डिभिजन टोली आगामी वर्षबाट लिगको ढाँचाको लागि तयार भएका छन् । यसवर्षबाटै लिगमा रेलिगेशनको प्रावधान राखिएको थियो ।

प्रतियोगिताको विजेता पदमपोखरीले एकलाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता सहिदस्मृति क्लब बागमतीले ५० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भयो । लिगको विजेता पदमपोखरीले बागमती प्रदेश लिग समेत खेल्नेछ । लिगमा मकवानपुरका २८ वटा क्लवको सहभागिता रहेको थियो । खेलको २४ मिनेटमै दिवश गोलेको गोलमार्फत् पदमपोखरीले अग्रता लिएको थियो । ३९ औं मिनेटमा उप्रान्त आलेको उत्कृष्ट गोलमार्फत् सहिदस्मृति खेलमा फर्किएको थियो ।

त्यसअघि आलेको पेनाल्टी प्रहारलाई पदमपोखरीका गोलरक्षक रोजक थिङले बचाएका थिए । पदमपोखरीले दोस्रो हाफमा २ गोल थपेको थियो । पदमपोखरी विजेश तितुङले ६८ औं मिनेटमा अग्रता दोब्बर बनाए । अतिरिक्त समयको अन्तिम मिनेटमा पदमपोखरीका लागि विकी जिम्बाले निर्णायक गोल गरेका हुन् । फाइनल खेलको म्यान अफ द म्याच पदमपोखरीका विजेश तितुङ घोषित भए । पदमपोखरीका रोजक थिङ उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा नमराज थिङ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भए ।

बागमतीका अरुण आले उत्कृष्ट डिफेण्डर र उप्रान्त आले उत्कृष्ट फरवार्ड घोषित भए । प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक युवराज लामा लगायतले पुरस्कार वितरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*