बाढीपहिरोबाट थाहाका खानेपानीमा क्षति

साझाकुरा
२०८१ आश्विन २१, सोमबार ०९:५७

हेटौंडा- मकवानपुर थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमानगरिएको छ । गत ११ र १२ असोजको वर्षाका कारण खानेपानी आयोजनामा क्षति भएको थाहा नगरपालिकाले जनाएको छ । बाढीपहरोले खानेपानीका १८ वटा इन्टेकमा क्षति पुगेको छ । २४ वटा खानेपानी रिजर्भ ट्यांकीमा क्षति पुगेको नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको तथ्यांकमा उल्लेख छ । विभिन्न साइजका गरी १६ हजार १७० मिटर पोलिथिन पाइप क्षति भएको छ भने एक हजार ३२४ मिटर जिआइ पाइपमा क्षति भएको पालिकाले जनाएको छ ।

नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार इन्टेकमा भएको क्षति करिब ९ लाख रुपैयाँ छ भने रिजर्भ ट्यांकीको क्षति मूल्यांकन १ करोड ३१ लाख ७५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी पोलिथिन पाइप २० लाख १७ हजार र जिआइ पाइपको क्षति मूल्यांकन २ लाख १० हजार रुपैयाँ रहेको नगरका सवइन्जिनियर सीताराम ढकालले जानकारी दिए । नगरपालिकाको १२ वटै वडाबाट तथ्यांक संकलन गरी पालिकामा एकीकृत गरी क्षतिको मूल्यांकन गरिएको थाहा नगरका सूचनाअधिकारी सुरजकुमार भुजेलले जानकारी दिए ।

सूचनाअधिकारी भुजेलका अनुसार खानेपानी आयोजनामा भएको क्षति पुनर्निर्माणका लागि पालिकासँग बजेट अभाव भएका कारण खानेपानी डिभिजन, मन्त्रालय तथा विभागमा अनुरोध गरी पठाइएको छ । क्षतिको पुनर्निर्माणका लागि पालिकाले सरकारी तथा गैरसरकारी निकायलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*