जग्गा अतिक्रमणले मकवानपुरगढीको ऐतिहासिक मन्दिर नै गायब

साझाकुरा
२०८१ आश्विन २२, मंगलवार १२:१४

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–२, स्थित ऐतिहासिक मकवानपुरगढी दरबारको चण्डिनीदेवीको मन्दिर जग्गा अतिक्रमणले गायब भएको खुलेको छ ।मकवानपुरगढी दरबारको पूर्वी मूलगेटबाट सय मिटरको दुरीमा रहेको चण्डिनीदेवीको मन्दिर गायब छ । त्यहाँ अहिले नेपाल टेलिकमको टावर र त्यसको वरपर भौतिक संरचना निर्माण भएका छन् । मन्दिर संरक्षण गर्दै अतिक्रमित जग्गा फिर्ता ल्याउन माग गर्दै स्थानीय चण्डिनीदेबी संरक्षण सरोकार संघर्ष समितिले सोमबार मकवानपुरगढी गाउँपालिकाको ध्यानाकर्षण गराएपछि जग्गा अतिक्रमणको रहस्य बाहिर आएको हो ।

ऐतिहासिक, धार्मिक र महत्वपूर्ण पर्यटकीय महत्व बोकेको स्थलको संरक्षण गर्दै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न २ नम्बर वडाबासी १ सय ३४ जना स्थानीयले हस्ताक्षर गर्दै गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानलाई ध्यानाकर्षण गराएका हुन् । चण्डिनीदेबी संरक्षण सरोकार संघर्ष समितिका अध्यक्ष भीमसेन किङरिङ मगरले स्थानीय सबै राजनीतिक दलको समेत प्रतिनिधित्व गर्दै मन्दिरको गरिमा र महत्वको बारेमा खोज गर्नको लागि समेत गाउँपालिकालाई आग्रह गरिएको बताए ।

मकवानपुरगढी दरवारभन्दा पूर्वतर्फ करिब २०० मिटर अगाडि वि.स. १७७५ मा सेन वंशीय राजा माणिक सेनद्वारा निर्मित चण्डिनीदेवीको मन्दिर विगतबाटै गायब पारिएको थियो । यो स्थानमा ३ देखि ४ वटा घरटहरा निर्माण भएको दाबी गरिएको छ । बनेका संरचना सबै मकवानपुरगढी दरबारको सार्वजनिक जग्गा रहेको समितिको दाबी छ । सार्वजनिक जग्गाको सँधियार रहेका स्थानीय राजेश थापाले मन्दिरको जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्न लगाएको आरोप लगाइएको छ ।

सोही स्थानमा काठको मौलोसहित स्थापना गरिएको स्थानमा हात्तीले पानीखाने पोखरी मन्दिरजाने सिडी, जग्गा नाप्ने जंगे पिलर समेत रहेको तथा समुदायद्वारा निर्मित गाउँघर क्लिनिक २०७० सालसम्म संचालन हुँदै आएकोमा राजेश थापाले सबै संरचना भत्काई त्यस आसपासको जग्गा अतिक्रमण गरी सार्वजनिक सम्पतिको दोहन भएको गाउँपालिकालाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।यस क्षेत्रमा रहेको नेपाल टेलिकमको टावर निर्माण गराई सम्झौता समेत गरिएकोले सम्झौता रद्द गरी टावरसहित निर्माण गरिएका घरटहरा हटाउन पनि माग गरिएको छ ।

नेपाल टेलिकमले मकवानपुरगढीदरबारको मुख्य किल्लानजिक राखेको टावर १३ बर्षपछि अर्थात २०७६ वैशाखमा हटाएको थियो । यही टावरलाई चण्डिनीदेवीको मन्दिरमा लगेर राखिएको थियो । टेलिकमलाई सार्वजनिक जग्गा भाडामा दिन थापाले जग्गा अतिक्रमण गरेको उनीहरुको दाबी छ । तर, यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।ध्यानाकर्षणपत्र बुझ्दै गाउँपालिका अध्यक्ष स्याङ्तानले आफ्नो क्षेत्रभित्र रहेको पर्यटकीय गन्तव्यको संरक्षणमा काम थाल्ने प्रतिवद्धता व्यक्त गरे । गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीयअधिकृत सत्यनारायण साह सहितको उपस्थितिमा अध्यक्ष लामाले ऐतिहासिक क्षेत्रको संरक्षणार्थ अतिक्रमित जग्गा फिर्ता ल्याउने पहल थाल्ने बताए ।

स्थानीयद्वारा मन्दिरको करिव ७ कठ्ठा र गढीदरबारको करिव ८ विगाहा जमिन अतिक्रमित भएको दाब िगरिएको छ । अतिक्रमित जग्गा फिर्ताको लागि यसअघि पनि गाउँपालिकाले पत्र काटेको तर, कार्यान्वयन नभएको पाइएको छ । १५ मंसिर २०७७ मा गाउँपालिकाले राजेश थापाको नाममा पत्र लेख्दै सार्वजनिक जग्गामा संरचना निर्माण गर्ने कार्य रोक्न निर्देशन दिइएको थियो । गाउँपालिकाले १४ मंसिर २०७७ मै २ नम्बर वडा कार्यालयलाई पत्राचार गर्दै अतिक्रमण रोक्न र संरचना हटाउन निर्देशन दिएको थियो । तर, कार्यान्वयनमा गएन ।

२ नम्बर वडाअध्यक्ष बखानसिं पाख्रिनले त्यतिबेलै भेला आयोजना गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउन खोज्दा विवाद भएकोले कार्यान्वयनमा नगएको बताए । उनले पनि सार्वजनिक जग्गा अतिक्रमण भएको बताए । चण्डिनीदेवी मन्दिर रहेको क्षेत्र वरपर गरेर करिब ५ कठ्ठा जति दरबारको जग्गा अतिक्रमणमा परेको उनको भनाई छ ।प्रा.डा. रामप्रसाद उपाध्यायको नेपालको प्राचीन र मध्यकालीन इतिहास पुस्तक र गढीको इतिहास खोजकर्ता केदार न्यौपानद्वारा लखित मकवानपुरको चिनारी पुस्तकमा तत्कालीन राजा माणिक सेनका पालामा चण्डिनीदेवी मन्दिर स्थापना भएको पुष्टि माणिक सेनले लेखेको शिलामा भेटिएको दाबी गरिएको छ ।

शिलाको लम्बाई १० ई. ४ लाइन र चौडाई १ ई. १० लाइनको छ । राजदेवी मन्दिरबाट केही पूर्वउत्तरमा चण्डिनीदेवीको स्थान पाइने पुस्तकमा भनिएको छ ।‘चण्डिनीदेवी स्थान नै खनेर व्यक्तिगत संरचना र सडक बनाएकोले देवीको गुठी कहाँ छ भनी ४ वर्षदेखि मैले खोजतलास गरिरहेको थिएँ ।’ पुस्तकमा उनले भनेका छन् । गढीबाट २०३६ सालमा हातहतियार बन्दुक, तोपहरु सबै सेनाले उठाएर लगेको हो भनी स्थानीयले बताएको उनले उल्लेख गरेका छन् । सेनाले सुरक्षा दिन छोडेपछि चण्डिनीदेवी स्थान, दरवार र अन्य मन्दिरहरु बेवारिसी हुन पुगेको दाबी पुस्तकमा गरिएको छ ।
मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले मकवानपुरगढीमा राजधानी वि.सं. १६१० बाट बसालेका थिए ।

यसअघि यहाँ राजधानी थिएन । मकवानपुरको स्वतन्त्र राज्य निर्माण गरी राजधानी बनाउने लोहाङ सेन रहेको विभिन्न इतिहास लेखिएका पुस्तकमा दाबी गरिएका छन् । ‘उनको मृत्युपछि यिनको छोरा राघव सेन राजा भए । उनका छोरा हरिहर सेन, शुभसेन, तीनका छोरा माणिक सेन र महिपति सेन मकवानपुरका राजा भए । राजा माणिक सेनका पालामा चण्डिनीदेवी स्थापना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*