अस्थायी प्रबन्ध मिलाएर खुलाइयो हेटौंडा–काठमाडौं जोड्ने सबै सडक

साझाकुरा
२०८१ आश्विन २३, बुधबार ११:३५

हेटौंडा- हेटौंडा र काठमाडौं जोड्ने सबै सडक सञ्चालनमा आएको छ । प्रदेश र संघीय राजधानीसमेत रहेका यी दुई सहरलाई जोड्न करिब आधा दर्जन सडक अस्थायी प्रबन्ध मिलाएर खुलाइएको हो ।मंगलबारबाट कान्तिलोक पथ सडक खण्ड खुलेसँगै हेटौंडा–काठमाडौं आवतजावतका लागि रहेका सडक सबै खुलेका हुन् । तर, यी सडकहरु अस्थायी प्रबन्ध मिलाएर तत्कालका लागि सञ्चालनमा ल्याइएको हो । बाढीले पुल वा सडक बगाएको स्थानमा डाइभर्सन वा पहुँचमार्ग बनाएर, खोलाबाटै अस्थायी ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको छ । दीर्घकालीनरुपमा पुल निर्माण गर्नुपर्ने, सडक नै बगाएको स्थानमा नयाँ ट्रयाक खोलर वा खोलाको सतहबाट उठाएर सडक निर्माण गर्नुपर्ने छ ।

‘९ दिनदेखि सडकहरु अवरुद्ध थिए । हामीले निरन्तर काम गरेर आइतबारबाट तीनवटा छोटो मार्गलाई खुलाएका छौं,’ बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले भने ।दक्षिणकालीदेखि सिस्नेरीसम्म सानाठूला गरी ६० वटा र सिस्नेरीदेखि भैंसेसम्म ४० वटा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको मन्त्री मास्केले बताए । ‘दशैंलाई लक्षित गरेर हामीले हतारहतार अस्थायी रुपमा सडक खुलाएका हौं । दीर्घकालीन तरिकाले योजना बनाएर काम गर्छौं’, मन्त्री मास्के भन्छन् ।

कान्तिलोकपथसँगै कुलेखानी–सिस्नेरी–दक्षिणकाली, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ, कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–कलंकी, कुलेखानी–मार्खु–चित्लाङ चन्द्रागिरी–थानकोट (गणेशमान सिंह मार्ग) र हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ हेटौंडा र काठमाडौंलाई जोड्ने सबैभन्दा छोटो मार्ग हुन् ।हेटौंडा र काठमाडौंलाई यी छोटो सडकमात्र नभई दुई लामो दुरीको सडक पनि छन् ।

चितवन–मुग्लिन–गल्छी–नौबिसे खण्डको पृथ्वी राजमार्ग र सिन्धुली–खुर्कोट–भकुण्डेबेशी–धुलिखेल खण्डको बिपी राजमार्ग पनि छन् । तर, यी दुवै सडक दुई राजधानी जोड्ने सबैभन्दा लामो दुरीको सडक हुन् । हाल बिपी राजमार्ग अवरुद्ध भएकाले पूर्वी नेपालका सबै सवारीसाधन मकवानपुरको त्रिभुवन राजपथ हँुदै काठमाडौं आवतजावत गरिरहेका छन् । यतिबेला नेपालका पूर्वीक्षेत्रका सबै सवारीसाधन हेटौंडा भएर यात्रा गर्नुपर्ने अवस्था छ ।

१० देखि १२ गतेसम्मको भिषण वर्षाका कारण बाढीपहिरोले हेटौंडा–काठमाडौं जोड्ने छोटा दुरीका आधा दर्जन सडकहरु अवरुद्ध बनाएको थियो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, मकवानपुरको भीमफेदी गाउँपालिका, ललितपुरको बागमती गाउँपालिकाले तीनवटै सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सबै सडक सञ्चालनमा ल्याएका हुन् ।नेपालीको महान चाड विजयादशमीको मुखमा सडक बिग्रिँदा घर फर्किने यात्रुलाई सडक सञ्चालन भएसँगै यात्रामा सहजता भएको छ । ‘बाढीपहिरोले सडक बिग्रिएको खबरपछि दशैंमा घर जान पाईंदैन की जस्तो भएको थियो ।

९–१० दिनसम्म लगाएर भएपनि राज्यका विभिन्न निकायले सडक सुचारु गरेका छन् । दशैंमा घर आउन पाइयो त्यही खुशी छौं’ काठमाडौंबाट हेटौंडा ओर्लिनासाथ राजकुमार पौडेलले सुनाए । उनले सडक सञ्चालन गर्न वैकल्पिक उपायहरु अपनाइए पनि छिट्टै दीर्घकालीन योजना बनाएर काम गर्न सरकारसँग अनुरोध गरे ।मंगलबार मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सञ्चालनमा आएका हुन् । १२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । कान्लिोकपथ ललितपुरतर्फको सडक यसअघि नै सुचारु भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो ।

द्रुतमार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका छन् । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मंगलबार बिहानबाट हलुका सवारी चल्न थालेको जानकारी दिए । बागमती गाउँपालिकाका स्थानीय प्रकाश लामाका अनुसार त्यहाँनेर सडक साँघुरो र एकतर्फी भएकाले हलुका सवारी मात्रै सञ्चालन गरिएको छ ।बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो ।

हेटौंडा र काठमाडौंलाई जोड्ने कान्तिलोकपथ महत्वपूर्ण मार्ग हो । कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मी खोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीनवटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए ।कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने १३ असोजमै पहिरो पन्छाएर सुचारु गरिएकोथियो । त्रिभुवन राजपथ बाहेक सबै सडक अस्थायी रुपमा खुलेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*