थाहामा पानीजन्य रोगका बिरामी साढे ५ हजार पुगे

साझाकुरा
२०८१ आश्विन २३, बुधबार ११:४४

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकामा गएका दुई आर्थिक वर्ष ०७९÷८० र ०८०÷८१ को मा ५ हजार ४ सय १५ जना पानीजन्य रोगबाट बिरामी परेका छन् ।नगरपालिकाको ११ वटा वडाका १२ स्वास्थ्यसंस्थाको बिरामी जाँच प्रतिवेदन अनुसार पानीबाट सर्ने रोगका कारण बिरामी पर्ने ५ हजार बढी भएको पाइएको हो । खानेपानी शुद्ध नहुँदा उनीहरुमा विभिन्न रोग लागेको स्वास्थ्य संस्था प्रमुखहरुको प्रतिक्रिया रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को २ महिना साउन र भदौमामात्र पनि ४ सय ३८ जना पानीजन्य रोगका कारण बिरामी परिसकेको छन् ।

थाहा नगरपालिकाको अभिलेखमा रहेका पानीबाट लाग्ने विभिन्न ९ वटा रोगमध्ये यो दुई महिनामा सबैभन्दा बढी झाडा पखालाबाट १ सय ७८ जना विरामी भएका छन् । साउन र भदौमा मात्र यति धेरै विरामी परेका हुन् । त्यसैगरी एक्युट ग्याष्ट्रो इन्टेरीटिसबाट १ सय ६३ जना विरामी भएका छन् । त्यसैगरी आउँमासीबाट २१, रगतमासीबाट १२, हेपाटाइटिस ए बाट १, जुका पर्नेबाट ३५, जण्डिसबाट २ र टाइफाइडबाट २६ बिरामी परेको थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गत आव ०८०÷८१ मा थाहानगरमा २ हजार ४ सय ६३ जना पानीजन्य रोगबाट बिरामी परेका थिए । जसमध्ये एक्युट ग्याष्ट्रो इन्टेरीटिसबाट ८ सय ३७ जना बिरामी भएका थिए । स्वास्थ्यसंस्थाहरुको अभिलेख अनुसार दोस्रोमा झाडापखाला रहेको छ । यस रोगबाट ८ सय ३२ जना बिरामी परेका थिए । यस आर्थिक वर्षमा आउँमासीबाट १ सय ८७, रगतमासीबाट ६६, हेपाटाइटिस ए बाट ७ जना, जण्डिसबाट ६७ जना, टाइफाइडबाट १ सय ४२ जना, जलबियोजनका कारण २ जना बिरामी परेको थाहा नगरपालिका स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले जानकारी दिए ।

आव ०७९÷८० मा पानीजन्य रोगको संक्रमणबाट २ हजार ५ सय १४ जना उपचारको लागि स्वास्थ्य संस्था पुगेका थिए । आर्थिक वर्ष २०७९÷८० मा भने सबैभन्दा बढी झाडापखलाका बिरामी उपचारको लागि स्वास्थ्य संस्था पुगेको पालिकाको स्वास्थ्य शाखाको तथ्यांक छ । दोस्रोमा एक्युट ग्याष्ट्रो एन्टेरीटिसबाट ६ सय ८३ जना व्यक्ति उपचारको लागि स्वास्थ्य संस्था पुगेका छन् । तेस्रोमा भने ३ सय ७८ जना जुका पर्ने विरामी उपचारको लागि स्वास्थ्य संस्था पुगेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार एक्युट ग्याष्ट्रो एन्टेरीटिसबाट पीडित बिरामीको संख्या वृद्धि हुँदै गएको देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*