तेल ट्यांकरमा ३९२ किलो गाँजा, मनहरीका दुईजना पक्राउ

साझाकुरा
२०८१ आश्विन २३, बुधबार ११:४६

हेटौंडा- त्रिभुवन राजपथ हुँदै पालुङबाट वीरगञ्ज गइरहेको ना ७ ख १७७१ नम्बरको तेल ट्यांकरमा ३९२ किलो लागूऔषध गाँजा भेटिएको छ ।मंगलबार बिहान सवा ३ बजे हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम सडक खण्डमा गाँजा बोकेको तेल ट्यांकरसहित दुईजनालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले ट्यांकर चालक मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे घर भएका २६ वर्षीय रोशन पुरी र सहचालक ज्यामिरे बस्ने २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको हो ।

ट्याङकरको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका बनाएर गाँजा राखिएको अवस्थामा फेला पारिएको डिएसपी अर्यालले बताए । मकवानपुरबाट लागूऔषध गाँजा भारत तस्करी हुँदै आएको छ । जिल्लाका विकट क्षेत्रमा गाँजा उत्पादन हुने गरेका छन् । प्रहरीले हरेक वर्ष गाँजाखेती नष्ट गर्ने अभियान चलाउँदै आएपनि यसको उत्पादन र ओसारपसारमा कमी भएको पाईंदैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*