मनहरीमा उत्पादित दूध गाउँपालिकामार्फत बिक्री सुरु

प्रतिक्षा न्यौपाने
२०८१ कार्तिक ३, शनिबार १५:२८

हेटौंडा–मकवानपुरको पश्चिमी क्षेत्र मनहरीका किसानहरुले २ कार्तिक शुक्रबारबाट गाउँपालिका कार्यालयमार्फत उत्पादित दूध बिक्री वितरण सुरु गरेका छन् ।१४०० दूग्ध उत्पादक किसानले अब गाउँपालिका कार्यालय मार्फत दूध बिक्रि गर्ने भएका हुन् । शुक्रबार गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सितापुलामी मगरसहित किसानहरुको उपस्थितिमा दूध बिक्रि कार्यको शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले यो निर्णयले किसानलाई राहत दिने विश्वास लिए । उनका अनुसार अब किसानहरुले ४–५ महिनासम्म भुक्तानीको लागि कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

किसानहरुको पुरानो बक्यौता रकम मंसिर १० गतेभित्र भुक्तानी हुने जानकारी दिइएको छ । गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले यस कदमले किसानको समस्या समाधान हुने र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन् । मनहरी गाउँपालिकामा दैनिक ६ हजार ५ सय देखि ७ हजार लिटरसम्म दूध उत्पादन हुँदै आएको छ। स्थानीय सानाकिसान सहकारीका अध्यक्ष विमला कार्कीले यो निर्णयले किसानहरुलाई सहज हुने र वर्षौंदेखि झेल्दै आएको भुक्तानीको समस्या समाधान हुने आशा व्यक्त गरेकी छिन् ।

जिल्ला सहकारी संघ मार्फत दूध खरिदबिक्री प्रक्रिया टुंग्याउँदै मनहरीका दुग्ध उत्पादक किसान आबद्धता रहेको सहकारीले गाउँपालिकासँग दूध बिक्रीका लागि असोज अन्तिममा सम्झौता गरेका हुन् । किसानहरुले यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरलाई दूध बिक्री गर्दै आएका थिए । गाउँपालिकाभित्र दूध संकलन गरिरहेका ६ वटा सहकारीसँग दूध बिक्री र भुक्तानीको काम गर्नेगरी कार्यालय मातहत कृषि उपज संकलन तथा बिक्री सेवा केन्द्र स्थापना गरिएको छ ।

जिल्ला संघबाट दूध बिक्री गर्दा भुक्तानी लामो समयसम्म रोकिएको गुनासोपछि गाउँपालिकाले आफैं किसानबाट उत्पादित दूधको जिम्मा लिएको हो । मनहरीका ६ वटा दुग्ध सहकारीमा १४०० जना दुग्ध उत्पादक किसान आवद्ध रहेको गाउँपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ । १ नम्बर वडामा क्षितिज दुग्ध उत्पादक सहकारी संस्था, ३ नम्बर वडामा चुरियामाई महिला जीवन वातावरण स्वाबलम्बन बहुद्देश्यीय सहकारी संस्था, नमूना कृषक बहुउद्देश्यीय सहकारी संस्था र साना किसान सहकारी संस्था, ७ र ८ नम्बर वडा कार्य क्षेत्र भएको साना किसान सहकारी तथा ६ नम्बर वडामा संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारी संस्था छन् ।

गत आार्थिक वर्ष २०८०÷८१ को तथ्यांकअनुसार यी ६ वटा सहकारीबाट वार्षिक २१ लाख ६५ हजार ६ सय ७ लिटर दूध उत्पादन भएको छ । दैनिक सरदर ६ हजार भन्दा बढी दूध उत्पादन हुने गरेको जनाइएको छ । पशुपन्छी शाखा प्रमुख डा. प्रदीप बर्तौलाले गाउँपालिकाले सहकारीमा आबद्ध किसानको मात्रै दूध खरिद गर्ने बताए । गाउँपालिकामा सहकारी बाहिरबाट आफ्नै तरिकाले दूध बिक्री गरिरहेका किसान छन् ।गाउँपालिकाले हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा अवस्थित हेटौंडा डेरी इडष्ट्रिज प्रालीसँग गत मंगलबार दूध खरिद बिक्रीका लागि सम्झौता गरेको छ । सम्झौतामा गाउँपालिका अध्यक्ष कालाखेती र उद्योगका महाप्रबन्धक उदयराज पण्डितले हस्ताक्षर गरेक छन् । गाउँपालिका केन्द्र रजैयाबाट हेटौंडा डेरी उद्योग करिब एक किलोमिटरको दुरीमा छ ।

गाउँपालिकाले कृषकहरुलाई दूध बिक्रि वापतको भुक्तानी १५–१५ दिनमा गर्ने सुनिश्चिता पनि गरेको गाउँपालिका अध्यक्ष तथा कृषि उपज संकलन तथा बिक्री सेवा केन्द्र संयोजक रञ्जन कालाखेतीले जानकारी दिए । ‘हामी अब कृषकसँग दूध खरिद गर्छौ, हामी नै डेरीलाई दूध बिक्री गरेर कृषकलाई आधा–आधा महिनामा भुक्तानी दिन्छौं ।’ उनले भने । कृषकहरुले दुःख गरेर उत्पादन गरेको दूधको मूल्य समयमै नपाएको कारण गाउँपालिकाले नै यसको जिम्मा लिएको अध्यक्ष कालाखेती बताउँछन् ।

प्राकृतिक प्रकोप, महामारी, बन्द हड्तालबाहेक दशैंको ३ दिन र दिपावलीको २ दिन दूध खरिदबिक्री बन्द हुने जनाइएको छ । हेटौंडा डेरी उद्योगले भुक्तानीमा ढिलाई गरे पनि गाउँपालिकाले किसानलाई अग्रिम भुक्तानी दिने उल्लेख गरे । कृषि उपज संकलन तथा बिक्री सेवा केन्द्रबाट १५ दिनमा भुक्तानीको व्यवस्था हुने र उद्योगबाट महिना बितेपछि प्राप्त हुने रकम केन्द्रमा जम्मा हुने उनको भनाई छ ।

गाउँपालिका र हेटौंडा डेरीबीचको सम्झौतामा गुणस्तर कायम रहेको दूध मात्रै खरिद बिक्री हुने उल्लेख छ । तोकिएको न्युनतम गुणस्तर कायम नभए दूध खरिद नगरेमा वा फिर्ता गरेमा कुनै दाबी गर्न नपाइने जनाइएको छ । सरकारी दररेटअनुसार नै खरिदबिक्री गरिने र सरकारले कच्चा दूधको मुल्य वृद्धि गरेमा गाउँपालिका र उद्योगबीच समझदारीमा मुल्य हेरफेर हुने उल्लेख छ । गाउँपालिका र उद्योगबीच २०८२ असार मसान्तसम्म सम्झौता लागु हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*