महिलामाथि सामूहिक बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई किशोर फरार

साझाकुरा
२०८१ कार्तिक ४, आईतवार १७:४५

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा ५० वर्षीया महिला माथि सामूहिक बलात्कारको घटना भएको छ ।घटना ३० असोज राती पीडित महिलाको घरमै भएको प्रहरीले जनाएको छ । पीडित महिलाले घटना भएको भोालीपल्ट अर्थात १ कार्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी छन् । उनको उजुरीकोआधारमा उनका ६० वर्षीया श्रीमान पक्राउ परेका छन् । पीडित महिलाले श्रीमानसहित अन्य दुई जना किशोर गरी ३ जनाले सामूहिक बलात्कार गरेको आरोप लगाएकी छन् ।

३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई किशोरले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएको आर्यलले जनाए ।

प्रहरीले श्रीमानलाई १ कार्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ । आरोपित दुई किशोर भने फरार रहेका छन् । डिएसपी अर्यालका अनुसार पीडित महिलाले दुई किशोरको अन्दाजी उमेर १९ र २० वर्ष हुनसक्ने बताए पनि पहिचान गर्न नसकेको बताएकी छन् । आरोपित श्रीमानले भने दुई किशोर नरहेको बयान दिएको अर्यालले जानकारी दिए ।

‘महिलाले श्रीमानसहित दुई जना किशोरले बलात्कार गरेको बताउनु भएको छ । किशोरहरुलाई आफू नचिन्ने उहाँले बताउनु भएको छ । दोषि पत्ता लगाउन हामीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।’ डिएसपी अर्यालले भने । पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य अवस्था ठिक रहेको डिएसपी अर्यालले बताए । उनका अनुसार पीडित महिलाले ३ वर्ष अघि मात्रै दोस्रो विवाह गरेकी थिइन् ।

प्रहरीका अनुसार बलात्कृत महिलाले तीन वर्षअघि अर्को पुरुषसँग सम्बन्ध विच्छेद गरेर विवाह गरेकी थिइन् । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा बलात्कारका दोषीलाई कठोर सजायको व्यवस्था गरिएको छ । कानुनमा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार भए जन्मकैदको सजाय हुने व्यवस्था छ ।

१० वर्षदेखि १४ वर्षसम्मकालाई बलात्कार गरे १८ देखि २० वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मका किशोरीलाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद, १६ देखि १८ वर्षकालाई बलात्कार गरेमा १० देखि १२ वर्षसम्म कैद र १८ वर्षमाथिकालाई बलात्कार गरे ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यसबाहेक वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पनि पत्नीलाई जबरर्जस्ती करणी गरेमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*