बागमती लोकसेवा आयोगले ७ महिनापछि पायो नेतृत्व, अध्यक्षमा श्रेष्ठ नियुक्त

साझाकुरा
२०८१ कार्तिक ५, सोमबार ११:१०

हेटौंडा-बागमती प्रदेश लोकसेवा आयोगले ७ महिनापछि नेतृत्व पाएको छ । आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । आइतबार बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम नियुक्त गरिएको बागमती प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृतसमेत रहेका सूचना अधिकारी प्रकाश चापागाईंले जानकारी दिए ।

उनको सपथ आज सोमबार दिउस गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले श्रेष्ठलाई आयोगको अध्यक्षमा नियुक्त गर्न २१ असोजमै प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलको नेता शालिकराम जम्कट्टेलको ३ सदस्यीय सिफारिस समितिको निर्णयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ कार्तिक बिहीबार मात्रै प्रदेश प्रमुख कार्यालयमा श्रेष्ठलाई नियुक्ति गर्न सिफारिस पत्र पठाएको थियो । बुटवलस्थित लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको निर्देशकमा कार्यरत रहेका श्रेष्ठ १ कार्तिक बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश भएका थिए । उनी ११औं तह सहसचिव हुन् ।

२ मंसिर २०७६ मा गठित आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठको उमेर हदका कारण अध्यक्ष ३ चैत २०८० बाट पदमुक्त भएका थिए । अध्यक्ष वा सदस्यको पद रिक्त निजको उमेर ६५ वर्ष पूरा भएका हुने प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ को (ख) मा व्यवस्था गरिएको छ । प्रदेश लोक सेवा आयोग गठनपछि यस प्रदेशमा प्रदेश निजामती सेवालगायतका कर्मचारी नियुक्तिका प्रव्रिmया सुरु भएको थियो  ।

पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा ७ महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यसअघि नै आयोग अध्यक्ष नियुक्ति गर्ने प्रयास गरेका थिए । तर, तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसलगातका दलहरूबीच सहमति हुन नसक्दा उनले आयोगको रिक्त अध्यक्ष पद परिपुर्ति गर्न सकेनन् ।

बागमती प्रदेशको प्रदेश मामिला समितिले गत साउन १६ गते मात्रै प्रदेश लोकसेवा आयोगको अध्यक्ष तत्कालन नियुक्त गर्न प्रदेश सरकारलाई निर्देशन दिएको थियो । समितिले आयोगको अध्यक्ष नियुक्त गर्न ढिलाइ हुँदा प्रदेशमा कर्मचारी व्यवस्थापन तथा नियुक्ति र बढुवा प्रक्रिया प्रभावित भएको भन्ने गुनासो आएको भन्दै तत्काल अध्यक्ष नियुक्त गर्न निर्देशन दिएको हो । समितिको बैठकमा उपस्थित मुख्यमन्त्री बहादुर सिं लामाले आवश्यक छलफल र प्रक्रिया पूरा गरी लोकसेवा अध्यक्ष नियुक्तिमा तदारुकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था छ । श्रेष्ठलाई आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस भएपछि आयोगका सदस्य सुर्दशन ढकालले असन्तुष्टि जनाउँदै २ कार्तिकमा पदबाट राजीनामा दिएका थिए । कनिष्ट व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न लागिएको भन्दै उनले प्रदेश प्रमुख देवकोटा समक्ष ११ कार्तिकबाट लागू हुने गरि राजीनामा दिएका हुन् । ६ माघ २०७६ मा नियुक्त भएका ढकालले ४ वर्ष ९ महिना काम गरेर राजीनामा दिए ।

सुरेशमान श्रेष्ठ उमेर हदका कारण पदमुक्त भएपछि ढकालले नै कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । डोरमणि पौडेल नेतृत्वको तत्कालीन नेकपा सरकारले सुरेशमान श्रेष्ठलाई अध्यक्ष, सहसचिवबाट अवकाश पाएका ढकाल र शर्मिला न्यौपानेलाई सदस्य नियुक्त गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*