सुपारेटार ब्यारेकमा पाँच दिने रक्षा संवाददाता अभिमुखीकरण

साझाकुरा
२०८१ कार्तिक ५, सोमबार ११:२०

हेटौंडा- मकवानपुरको मध्य पृतना हेडक्वाटर सुपारेटार ब्यारेकमा रक्षा संवाददाता अभिमुखीकरण (डीसीओपी) सम्बन्धी पाँच दिने तालिमको आयोजना गरिएको छ ।तालिमको मध्य पृतनापति उपरथी प्रदीप जंग केसीले उद्घाटन गरे ।केसीले नेपाली सेनाले गरेको कामलाई आम नेपाली जनतासमक्ष पु¥याउन सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले संचारकर्मी र नेपाली सेनाबीच समन्वय आवश्यक रहेको भन्दै सत्यतथ्य समाचार संप्रेशण गर्न आग्रह गरे ।

जनसम्पर्क तथा सूचना निर्देशक एवम् सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेका थिए ।कार्यक्रमको अबसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम तथा टेलिभिजन कार्यक्रम (माटोले माग्दैन आँफैले दिनुपर्छ) प्रसारण गर्ने मध्य पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका पाँच वटा एफएम रेडियो र तीन वटा टेलिभिजनका सञ्चालकहरुलाई प्रोत्साहन स्वरुप नगद तथा कदर पत्र प्रदान गरिएको थियो । टिम टेलिभिजन (मकवानपुर), अभियान टेलिभिजन (चितवन), कालिका टेलिभिजन (चितवन), रेडियो लाङटाङ (रसुवा), सेफर्ड एफएम (चितवन) रसुवा एफएम (रसुवा), रेडियो राजमार्ग (धादिङ) र रेडियो धार्दिङ (धादिङ)लाई नगद तथा कदरपत्र प्रदान गरिएको थियो ।

तालिममा मध्य पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका मकवानपुर, धादिङ, चितवन, रसुवालगायतका जिल्लाहरुबाट १५ जना संचारकर्मीहरुले सहभागिता जनाएका छन् । कात्तिक ८ गतेसम्म संचालन हुने तालिमको पहिलो दिन आइतबार मकवानपुरका अग्रह पत्रकार प्रताब विष्टले पत्रकारिताको अनुभव र पत्रकार आचार संहिताबारे प्रस्तुतीकरण दिए ।मेजर बासु थापाले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको महत्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको जिम्मेवारी, नेपाली सेना र सञ्चार जगतसँग समन्वय लगायतको विषयमा प्रस्तुतीकरण दिए ।

सहायक चिफ स्टार्फ (तालिम), प्रमुख सेनानी रन्जन कुमार कार्कीले नेपाली सेनाको परिचय, स्थापना, जिम्मेवारी श्रेत्र, सीमाको स्तम्भ, पृतनालाई प्राप्त जिम्मेवारी लगायतको विषयमा प्रस्तुतीकरण दिएका थिए । यसैगरी, संघीय रक्षा मन्त्रालयको उपसचिव (कानून) सम्झना खनालले रक्षा मन्त्रालयको कार्यक्षेत्र, रक्षा मन्त्रालयको संगठन र दरबन्दी, नेपाली सेनासँग संबैधानिक व्यवस्था, आगामी कार्यदिशा र राष्ट्रिय सुरक्षा नीतिबारे जानकारी गराएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*