हेटौंडा–कुलेखानी–काठमाडौं सडक दुई तर्फी खुल्यो

साझाकुरा
२०८१ कार्तिक ५, सोमबार ११:३३

हेटौंडा- हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्ड मर्मतसम्भारका लागि तीन दिनसम्म बन्द गरेर सोमबारदेखि दुईतर्फी सञ्चालनमा ल्याइको छ ।यसअघि यस सडक खण्डबाट सवारीसाधन आवतजावत एकतर्फी मात्रै गरिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्न काम सकिएपछि उक्त सडक खण्ड दुईतर्फी खोलिएको हो ।

यसअघि उक्त सडक खण्डा भएर हेटौंडाबाट–काठमाडौं जाने सवारी साधनलाई रोक लगाइएको थियो । काठमाडौं बाट–हेटौंडा आउने सवारी साधनलाई सञ्चालन अनुमति दिइएको थियो ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्ने प्रयोजनका लागि बन्द गरिएको सडक खण्ड काम सकिएपछि खोलिएको जानकारी दिए ।

उनले सिमखोलामा निर्माण गरिएको डाइभर्सनमा थप अर्को ट्रयाक खोलेसँगै सवारीसाधन आवतजावतमा सहज हुने बताए । चाडपर्वमा उक्त मार्ग भएर गुड्ने सवारीको चाप धान्न कठिन भएपछि जिल्ला प्रशासन कार्यालयको विशेष अनुरोधमा प्रदेश सरकार र सडक डिभिजन कार्यालयले सिमखोलामा ह्युमपाइप राखेर थप अर्को ट्रयाक खोलेको हो ।

हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक खण्ड एकतर्फी सञ्चालनमा आएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा सवारी साधनको चाप बढेको थियो । मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौंडाबाट काठमाडौं जोड्न सबै मार्ग सञ्चालनमा आएकाले अब यात्रामा सहजता हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*