मनहरीमा आलु र प्याज खेती गर्ने किसानलाई अनुदान

साझाकुरा
२०८१ कार्तिक ८, बिहीबार ११:२७

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । तरकारी उत्पादनको लागि अब्बल क्षेत्र मानिने मनहरीले आलु र प्याजको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।पालिकाले तीन कठ्ठा भन्दा धेरै क्षेत्रफलमा प्याज खेती गर्ने किसानलाई प्रतिकठ्ठा दुई हजार पाँचसय र आलु खेती गर्ने किसानलाई प्रतिकठ्ठा एक हजार पाँचसय रुपैयाँ अनुदान दिने भएको छ । पालिकाका अनुसार आलुको लागि न्यूनतम ५ कठ्ठा र प्याजको लागि न्यूनतम ३ कट्टा खेती गरिएको जग्गा हुनुपर्ने उल्लेख छ ।

मनहरी गाउँपालिका कृषि विकास उपशाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत आलु र प्याजमा मूल्य अनुदानका लागि दश लाख रुपियाँ विनियोजन गरिएको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । उत्पादन पश्चात् क्षति न्यूनीकरणको लागि कोल्ड स्टोरेजको भाडा शुल्कमा किसानलाई शतप्रतिशत अनुदान दिइने उहाँको भनाई छ ।

यसका लागि पालिकाले पाँच लाख बजेट विनियोजन गरेको छ । मकवानपुरको तरकारी खेतीको पहिलो पकेट क्षेत्रको रूपमा थाहा नगरपालिका रहेको छ । दोस्रो तरकारी उत्पादन गर्ने क्षेत्रको रुपमा मनहरी गाउँपालिका रहेको छ । यहाँ काउली, आलु, बन्दा, भन्टा, काँक्रोलगायतको व्यावसायिक नगदेबाली उत्पादन हुने गरेको छ । पछिल्लो समय कागती, ड्रागन खेती र कुरिलो खेतीतर्फ पनि यहाँका किसान आकर्षित भएका छन् । यहाँका अधिकांश बासिन्दा कृषि पेसामा आवद्ध छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*