दीपावलीको अवसरमा बकैयामा जेके एफसी कप सुरु
हेटौंडा-शुभदीपावली (तिहार)को अवसर पारेर मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिका–९ च्याउच्याउमा जेके एफसी कप सुरु भएको छ ।बकैयाको जेके फुटवल क्लवको आयोजनामा विहीबारबाट सुरु भएको उद्घाटन खेलमा जेके एफसी ‘ए’ ले कान्द्राङ एफसीलाई १०–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । क्लवका अध्यक्ष बीरबहादुर सिंतानको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।
बल हस्तान्तरण पछि उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि बानियाँले खेलको माध्यमबाट देशलाई चिनाउने कार्यको सुरुवात भैरहेको बताए । क्रिकेट,फुटलवललगायत खेलको माध्यमबाट विस्तारै नेपालको नाम चर्चामा आउन लागेको बताउँदै नेता बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले पनि खेलमा लगानी बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्वअध्यक्ष दामोदर खनाल, बकैया–९ का वडा अध्यक्ष टंकध्वज लोप्चन, बकैया खेलकुद विकास समितिका संयोजक विजय थिङलगायतले मन्तव्य व्यक्त गरे । कात्तिक १४ गतेसम्म संचालन हुुने प्रतियोगितामा २६ टिमले सहभागिता जनाएको क्लवका अध्यक्ष सिंतानले जानकारी दिए । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद ३० हजार र १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।