हेटौंडामा जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु
हेटौंडा- हेटौंडामा जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु भएको छ । बुद्ध स्नुकर हाउस र एस–वान स्नुकर क्लबको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबारबाट मेयरकप स्नुकर प्रतियोगिता सुरु भएको हो ।हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउसमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख मीनाकुमारी लामाले गरेकी थिइन् । नगरप्रमुख लामाले सबै खेलमा आवद्ध भएका खेलाडीले अनुशासित र मर्यादित तरिकाले अगाडि बढ्नुपर्ने बताइन् । उनले खेलाडी कतिपय अवस्थामा दुव्र्यसनीमा फसेको कारणले गर्दा अभिभावकले आफ्ना बालबालिका खेलमा लागेको मन नपाउने गरेको बताइन् ।
जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्कीले सबै संघ, संस्थामा आवद्ध भएका पदाधिकारीले व्यक्तिगत स्वार्थलाई मात्र नहेरी खेलकुदको विकास गर्ने कार्यमा लाग्नु पर्ने धारणाराखे । नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ४४ जना खेलाडीको सहभागिता छ । प्रतियोगिता बुद्ध स्नुकर हाउस र एस–वान स्नोकर हाउसमा सञ्चालन हुनेछ । प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, ६÷६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोर ब्रेकर र राइजिङ प्लेयरलाई ५÷५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।
बुद्ध स्नुकरकी सञ्चालक सञ्जु लामाको सभाध्यक्षमा भएको उद्घाटनमा नगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष चन्द्र शाही, नेपाल सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपक लामा, दि रिभाइबल युथ क्लका उपाध्यक्ष सुनिल खड्गी र नेपाल खड्गी समाजका अध्यक्ष सुक्रम खड्गी, एस–वान स्नुकरका सञ्चालक बिक्रम शाही, स्नुकर खेलाडी अमर लामा, यादव श्रेष्ठ, प्रताव लामालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।