बागमतीमा १०० दिनभित्र १३ किमि सडक कालोपत्रे

साझाकुरा
२०८१ कार्तिक २१, बुधबार ०९:५४

हेटौंडा- बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १०० दिनमा १३ किलोमिटर सडक कालोपत्रे गरेको छ । १४ कार्तिकमा प्रदेश सरकारले १०० दिन पूरा गरेको हो ।नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारमा एमालेका अमनकुमार मास्केले नेतृत्व गरिरहेको भौतिक मन्त्रालयले सहरी विकास तथा भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको छ । मन्त्रालयले १०० दिनमा १३ किलोमिटर सडक कालोपत्रे गरेको हो । ११ किलोमिटर सडक ढलान, २२ किलोमिटर ग्राभेल, २७ किलोमिटर नयाँ ट्रयाक खोल्ने कार्य भएको मन्त्री मास्केले जानकारी दिए ।

मन्त्री मास्केकाअनुसार ४ वटा पुल र १ झोलुङ्गे पुल, ३ वटा सामुदायिक भवनको निर्माणकार्य सम्पन्न भएको छ । जनता आवास कार्यक्रममार्फत् १२ वटा आवास, चेपाङ, वनकरिया, माझी, बोटे एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत थप २ सय ६० वटा आवास र खरको छानो उन्मूलन कार्यक्रम अन्तर्गत थप २ सय ४७ वटा आवास निर्माणको कार्य सम्पन्न गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले प्रदेश सरकारद्वारा सञ्चालित ५५ वटा जीर्ण आयोजना पहिचान गरेको छ । मन्त्री बनेपछि मास्केले जीर्ण आयोजना पहिचान गर्न अध्ययन समिति गठन गरेका थिए । रुग्ण आयोजनाको पहिचान, व्यवस्थापन तथा सहजीकरण गर्न १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी रुग्ण आयोजना पहिचान तथा सहजीकरण समिति गठन गरिएको थियो । समितिबाट प्राप्त प्रतिवेदनको आधारमा योजनागत रुपमा प्राथमिकताका साथ कार्यस्थल भ्रमण तथा ताकेता गरी ५५ वटा रुग्ण योजनामध्ये यो अवधिमा २ वटा योजना सम्पन्न भएका छन् ।

प्रादेशिक सडकमा प्राकृतिक विपद्को समयमा छिटो छरितो तथा प्रभावकारीरुपमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मत सुधारका लागि आकस्मिक र तत्काल परिचालन गर्न सकिने गरी द्रुतप्रतिकार्य टोली गठन गरिएको थिया । टोलीलाई परिचालन गरी मन्त्रालयले विपद् प्रभावित क्षेत्रको सडक सञ्चालनको काम गरेको थियो ।असोज १० देखि १४ गते सम्मको अविरल वर्षाको कारण आएको बाढी, पहिरो तथा डुबानले प्रभावित सडक–पुलमा स्रोतसाधनको परिचालन गरी तत्काल मर्मत तथा सुधार, डाईभर्सन निर्माण तथा वैकल्पिक सडकको पुनस्र्थापनागरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*