थाहाको २ नम्बर वडाले जित्यो भलिबल उपाधि
हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाको २ नम्बर वडाले थाहा–कैलाश पालिकास्तरीय अन्तरवडा भलिबल प्रतियोगिताको उपाधि जितेको छ । २ नम्बर वडाको भलिबल टिमले आयोजक सल्ले राम्चे युवा क्लब ‘ए’ लाई १५–२५, २५–२१, २१–२५, २५–२२ र १५–९ को सेटमा पराजित गरेको हो । थाहा–२ ले नगद ५१ हजार १ सय ५१ रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । द्वितीय हुने आयोजक सल्ले राम्चे युवा क्लबले ३१ हजार १ सय ३१ रुपैयाँ पुरस्कारमा चित्त बुझायो । प्रतियोगितामा थाहाको ५ नम्बर वडा तृतीय भएको छ ।
५ नम्बर वडाले १३ हजार १ सय १३ रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक सुजिन्द्र गोलेले जानकारी दिए । थाहा–५ ले सशक्त रातो थाहा–७ लाई २५–२०, २५–२३, २२–२५ र २५–२२ को अन्तरले पराजित गर्दै तृतीय स्थान लिन सफल भएको हो । प्रतियोगितामा आयोजक सल्ले राम्चे युवा क्लब ‘बी’का प्रतीक वाइबा उदीयमान खेलाडी घोषित भए ।
थाहा–५ का पुजन गुरुङ वेस्ट सर्भर, आयोजक सल्ले राम्चे युवा क्लब ‘ए’ का अनिल मोक्तान वेष्ट डिफेन्डर, थाहा–२ का प्रवेश कार्की वेस्ट ब्लकर, थाहा–२ कै सागर तामाङ वेस्ट सेटर घोषित भए । त्यस्तै आयोजक ‘ए’का रमेश थिङ वेस्ट स्पाइकर र थाहा–२ का सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए । विधागत उत्कृष्ट खेलाडीले पनि नगद तथा ट्रफी पुरस्कार पाएका छन् ।
थाहा नगरपालिका नगरप्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीयअधिकृत कृष्ण गिरी लगायत अतिथिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सल्ले राम्चे युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको सहआयोजक हिमशिखर बचत तथा ऋण सहकारी संस्था थाहा–७ डाँडाबास रहेको थियो । थाहा नगरपालिका वडा नम्बर ७ मुख्य सहयोगी रहेको थियो ।